काठमाडौं - प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्न जनता समाजवादी पार्टीले गठन गरेको छानबिन समितिले प्रतिवेदन बुझाएको छ। 

शनिबार बालकुमारीमा औपचारिक कार्यक्रम गरी समितिले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई आफ्नो प्रतिवेदन बुझाएको हो। समितिले अन्तर्घातको आरोप लागेका १५२ जनाको बयान लिएको थियो जसमध्ये केन्द्रीय तहका ४८ जना, प्रदेश समितिका २२ जना र स्थानीय तहका ८२ सदस्य छन्। 

समितिले पाँचथर, सुनसरी, मोरङ, सप्तरी, सिराहा, महोत्तरी, धनुषा, सर्लाही, मकवानपुर, धादिङ, काभ्रे, बर्दिया, सुर्खेत, कैलाली जिल्लामा भ्रमण गरी तयार पारेको प्रतिवेदनमा ८० जनालाई कारवाहीको सिफारिस गरेको छ। गैरभौगोलिक विशेष प्रदेश समितिका सदस्यलाई पनि कारवाहीका लागि सिफारिस गरिएको छ। 

शिवलाल थापा नेतृत्वको छानबिन समितिले आफूले जिम्मेवारी पाएको ४९औँ दिनमा प्रतिवेदन हस्तान्तरण गरेको छ।