काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आठ दलीय गठबन्धन पाँच वर्षसम्म नै जाने बताएका छन् । 

प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरूको उपस्थितिमा अभिमुखीकरण कार्यक्रमपछि पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भने,‘गठबन्धन पाँच वर्षसम्म नै जान्छ । मन्त्रिमण्डल विस्तार गर्ने कार्य आजैदेखि सुरु भइसक्यो ।’ 

प्रचण्डले आठ दलीय गठबन्धन अझै बढ्ने बताए । उनले यो गठबन्धनलाई ८ दलको भनेपनि राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेललाई अहिले नै १० दलको समर्थन रहेको दावी गरे।

रामचन्द्रजी राष्ट्रपतिका लागि सबैभन्दा योग्य : देउवा

सोही कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल राष्ट्रपति पदका लागि सबैभन्दा योग्य व्यक्ति भएको बताए। 

देउवाले भने, ‘राष्ट्रपतिमा रामचन्द्रलाई विजयी बनाऔं। पौडेललाई उम्मेदवार बनाएर न्याय गरे। रामचन्द्रजी अहिले राष्ट्रपति पदका लागि सबैभन्दा योग्य व्यक्ति हो। प्रजातन्त्र, लोकतन्त्र र संविधान रक्षाका लागि पौडेल ज्यूले भूमिका खेल्नुहुनेमा आफू पूर्ण विश्वस्त छु।’ लोकतन्त्र र प्रजातन्त्रका लागी पौडेलको भूमिका अतुलनीय रहेको देउवाको भनाइ छ। 

राष्ट्रपतिमा पौडेललाई मत दिन्छौं : माधव नेपाल

सोही कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको भूमिका देशभक्तिको रक्षा र राष्ट्रिय हितको प्रवर्द्धन गर्ने खालको हुनुपर्ने बताएका छन् । 

उनले भने, ‘राष्ट्रपतिले राष्ट्रिय हितको प्रवद्र्धन, देशभक्तिको रक्षा, संविधानको रक्षा र संरक्षणलाई केन्द्रमा राख्नुपर्छ । राष्ट्रिय शक्तिलाई उपलब्धी रक्षाका लागि एकताबद्ध गराउन भूमिका खेल्नुपर्छ।'
 
नेपालले राष्ट्रपतिमा पौडेललाई जिताउन आफ्नो पार्टीले मतदान गर्ने बताए ।