काठमाडौं – ग्रिसको उत्तर क्षेत्रमा दुईवटा रेल एक आपसमा ठोक्किंदा कम्तिमा १६ जनाको मृत्यु भएको छ भने अरु दर्जनौं यात्रु घाइते भएको  समाचार एजेन्सी एएफपीले अग्नि नियन्त्रको टोलीलाई उद्धृत गर्दै उल्लेख गरेको छ । घाइतेमध्ये २५ जनाको स्वास्थ्ये अवस्था चिन्ताजनक रहेको जनाएको छ । 

मंगलबार बेलुका लारिसा सहर नजिकै यात्रुबाहक रेल र मालबाहक रेल एक आपसमा ठोक्किंदा डिब्बाहरु उछुट्टिएका थिए र तीनवटा डब्बामा आगो लागेको थियो । उक्त आगोलाई निभाउन १७ वटा दमकलसहित अग्नि नियन्त्रक र स्वास्थ्यकर्मीहरुको टोली खटिएका थिए ।

उद्धारका लागि लारिसा क्षेत्रका दुईवटा अस्पतालबाट स्वास्थ्यकर्मीहरुलाई खटाइएको र सेनाको पनि सहयोग मागिएको अधिकारीहरुले बताएका छन् । रेल ठोक्किनुको कारण भने खुलेको छैन ।

भिडियो फुटेजहरुमा दुर्घटनास्थलमा धुवाँको बाक्लो मुस्लो उडेको र रेलका डिब्बामा आगो दन्किएको देखिन्छ । हेड ल्याम्प लगाएका उद्धारकर्ताहरुले धुवाँको मुस्लोमा छिरेर रेलमा च्यापिएका घाइतेहरुको उद्धार गरेका थिए ।

स्थानीय सरकारी टेलिभिजन च्यानलसँगको कुराकानीमा गभर्नर कोस्टास अगोरास्टोले भनेका छन्, ‘निकै ठूलो दुर्घटना भयो । यो भयंकर रात रह्यो । दुर्घटनाको दृष्य यति भयानक थियो कि वर्णन गर्न गाह्रो भएको छ ।’