काठमाडौं - नेकपा एमालेका आठ मन्त्रीले राजीनामा दिएका छन्। 

सोमबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उनीहरूले राजीनामा बुझाएका हुन्। एमालेको सचिवालय बैठकले आज सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको थियो।

प्रचण्ड नेतृत्वको सरकारमा एमालेबाट अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री बिमला राई पौड्याल, रक्षा मन्त्री हरीराज उप्रेती, स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, कृषी तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी शाह, भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राइ सहभागी थिए।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रियत प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको थियो। राप्रपाले समर्थनसमेत फिर्ता लिँदा रास्वपाले भने सरकारलाई दिएको समर्थन कायमै राखेको छ। 

नेकपा एमालेले पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्रीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बर्खास्ती गर्ने सम्मको धम्की दिएपछि सरकार छोडेको स्पष्ट पारेको छ। एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रचण्डले स्वइच्छाले नहटे हटाउनेसम्मको धम्की दिएको बताए । 

एमाले सचिवालय बैठकपछि पौडेलले भने,‘एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूलाई प्रधानमन्त्रीज्यूले जुन खालको व्यवहार गर्नुभयो । त्यो देखेर हाम्रो चित्त बुझेन। स्वइच्छाले सरकारले नछाडे विना विभागीयमन्त्री बनाउनेदेखि हटाउनेसम्मका अभिव्यक्ति दिएपछि सरकारबाट बाहिरिएका हौं ।’

एमाले उपाध्यक्ष पौडेलले राष्ट्रपति निर्वाचनमा कुरा नमिले पनि सरकारलाई दिएको समर्थन कायम राखिराख्ने कोशिस भएपनि प्रधानमन्त्रीबाट फरक ढंगको व्यवहार भएपछि सरकारबाट बाहिरिने निर्णय गरेको बताए।