काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वभाव बिरालोको जस्तै भएको बताएका छन्।
राजनीतिक आन्दोलनमा घाइते भएकालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, 'तपाईंहरूलाई थाहा छ बिरालो पाल्न किन्नु पर्दैन? दूध र भात दियो भने छिमेकीको बिरालो आफ्नै हुन्छ। एउटा कचौरामा दूध भात दिनुहोस् छिमेकीको बिरालो आफैँ आउँछ। प्रचण्डमा यही स्वभाव हावी छ। जता पाइन्छ उहाँ ढल्किहाल्नुहुन्छ।'
प्रधानमन्त्री प्रचण्ड एकथरी बोल्ने र अर्कै काम गर्दै हिँड्ने गरेको ओलीले बताए। उनले भने, 'प्रचण्डजी एक थरी बोल्नुहुन्छ, गर्नुहुन्छ बेग्लै। उहाँसँग अस्ति भएको भेटमा मलाई भन्नुभयो, दुई महिना गाह्रो भयो है। नहोस् पनि कसरी उहाँ दाम्लो चुँडाएर जान खोज्ने, मैले रोक्दिने। उहाँलाई गाह्रो भएको थियो।'
प्रचण्ड धोका दिने मान्छे भनेर आफूले चिनेको बताउँदै ओलीले अहिले पनि प्रचण्डले व्यवहार नसुधारेको बताए।
ओलीले आफूले विगतमा पनि विभिन्न आन्दोलनका घाइतेलाई उपचार गर्न आह्वान गर्दा धेरैतिरबाट रोकिएको बताए। उनले भने, 'मैले घाइतेहरूलाई आउनुहोस् सरकारले उपचार गराउँछ भने, तर धेरै मानिसहरूलाई रोकियो। विभिन्न कारणले रोकियो। जे होस् यसरी रोक्ने काम क्रमश: अन्त्य हुँदैछ।'
एमाले अध्यक्ष ओलीले देशका लागि लड्ने, योगदान र बलिदान दिनेको महत्व कम नहुने बताए। उनले भने, 'जनतालाई धोका दिनेलाई देशले चिन्ने छ। विस्तारै चिनिँदै जाने छ। कहिले कहिले लडाउनेको नियत खराब हुनसक्छ। सपना देखाउनेका सपनाको वितरण भ्रमणपूर्वक हुनसक्छ। तर लड्नेहरूले आफ्नो नभइ अरुको सुन्दर भविष्यका लागि लडेको हुन्छन्।'
ओलीले भ्रमपूर्ण सपना देखाउनेको नियत खराब भएपनि अरुको खुसीका लागि लड्नेको नियतमा कहिल्यै खोट नहुने बताए। उनले भने, 'केही मान्छे आफ्नो स्वार्थ र इगोका लागि भ्रमपूर्ण लडाइँ लडाइरहेको हुन्छ। ती कुरा साँचो होइनरहेछ भन्ने पछि बुझिन्छ। त्यो बुझ्दा धेरै समय ढिलो भइसकेको हुन्छ। धेरैले ज्यान गुमाएको हुन्छ। अंगभंग भइसकेको हुन्छ। उनीहरूको सुन्दर जीवन सुन्दरतातर्फ जानबाट रोकिसकिएको हुन्छ। यस्तो कुरा पछि धोका रहेछ भन्ने थाहा हुन्छ। यस्ता जतिसुकै धोका भए पनि सहादतको महानता कम हुँदैन। योगदान र बलिदानको महत्व कम हुँदैन।'
आफूले ५८ वर्षको राजनीतिक जीवनमा यस्ता धेरै कुरा सुन्दै र देख्दै आएको बताउँदै आफैँसँग जेल बसेका साथीलाई पनि जेलबाट निकालेर गोली हानी हत्या गरेको बताए।
ओलीले टुप्पाको पात झर्यो भनेर चिन्ता गर्न नहुने बताएका छन्। कुनै पात भूइमा झर्यो भने त्यो मल हुने भएकाले चिन्ता गर्न नहुने उनको तर्क छ।
ओलीले सत्ता साझेदार नेकपा माओवादी केन्द्रले पुस १० गतेको समझदारी लत्याएको तर्फ इशारा गर्दै भने, 'को झर्यो म भन्दिन। तर तपाईंहरूले देख्नु भएकै छ। कसरी विस्तारै हल्लिँदै हल्लिँदै झर्यो। मैले नयाँ टेक्नोलोजी लगाएर पुस १० मा जोड्न खोजेँ तर काम भएन्।'
ओलीले शोकलाई शक्तिमा बदलेर अघि बढ्नुपर्ने बताए।
0 comment