काठमाडौं - राष्ट्रपति पदमा नेकपा एमालेको तर्फबाट सुवासचन्द्र नेम्बाङले उम्मेदवारी दर्ता भएको छ।
नेम्बाङको प्रस्तावकमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, सचिव गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन्। समर्थकमा सचिवद्वय योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन्। एमाले पार्टी कार्यालय च्यासलमा आज बिहान बसेको सचिवालय बैठकले नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो।
राष्ट्रपतिको उम्मेदवारमा पार्टीका उपाध्यक्ष नेम्वाङको मनोनयन दर्तापछि ओलीले भने, 'हामीलाई विश्वास छ, हामी अत्यधिक मतका साथ विजयी हुन्छौँ।'
ओलीले एमालेले विधि पूर्वक उम्मेदवार उठाएको बताउँदै उम्मेदवारी दर्ताको निस्सा पनि लिएको बताए। उनले भने, 'हामीले विधि पूर्वध उम्मेदवार उठाएका छौँ। उम्मेदवारीको निस्सा पनि लिइसकेका छौँ। यो उम्मेदवारी दलीय स्वार्थ होइन्। संविधानको सही र सफल कार्यान्यनका लागि हो। प्रणालीको रक्षा र सही सफल कार्यान्वयनका लागि हो।'
उनले भने, 'हाम्रो उम्मेदवारी सर्वत्र स्वीकार्य मात्र होइन स्वागतको विषय बन्ने छ। हामीले सबैतिरबाट साथ सहयोग पाउने छौँ। सिंगो नेपाली जनताले हाम्रो साथ दिनुहुनेछ। अत्यधिक मतका साथ विजयी हुन्छौँ।'
वर्तमान सरकार गठनकै बेला पुस १० मा नै यो समझदारी भइसकेको बताउँदै ओलीले सार्वजनिकमात्र आज गरेको बताए। उनले भने, 'वर्तमान सरकार गठनकै बेला पुस १० मा नै यो समझदारी भइसकेको थियो। सार्वजनिक मात्र नगरेको हो। यसमा सहमत सबैले आफ्नो प्रतिवद्धतामा अडिक हुनुहुन्छ भन्ने विश्वास छ।'
सत्ता साझेदार दलहरूबीच वर्तमान सरकार गठनको समयमा गत २०७९ पुस १० गते भएको सहमति बमोजिम पार्टीले राष्ट्रपति पदमा उम्मेदवारी दिएको उपमहासचिव पृथ्वीसुव्बा गुरुङले बताए।
0 comment