काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई राष्ट्रपति दिनु नै राष्ट्रिय सहमति भएको बताएका छन्।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पहिलो दल भएका नाताले कांग्रेसलाई राष्ट्रपति दिन आफुले आग्रह गरे पनि ओली नमानेको उनको भनाइ छ। शुक्रबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले ओलीसँग कांग्रेसलाई राष्ट्रपति दिएर राष्ट्रिय सहमति गर्न प्रस्ताव गरेको दाबी गरे।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, 'कांग्रेस ठूलो दल हो। उसलाई राष्ट्रपति दिएर राष्ट्रिय सहमति गरौं। किनकि तपाइँहरूले सभामुख पाइसक्नुभएको छ। राजनीतिक प्रक्रियालाई सबैतिरबाट इंगेज गरेर स्थायित्व कायम गरौं भनेर प्रस्ताव गरेको हुँ। उहाँले मान्नुभएन।'

ओलीले नमानेपछि आठ दलले कांग्रेसलाई राष्ट्रपति दिने निर्णय गरेको प्रचण्डको भनाइ छ। उनले यो नै राष्ट्रिय सहमति भएको बताए। 'कांग्रेसलाई दिने सहमति नै राष्ट्रिय सहमति हो भन्ने मेरो बुझाइ छ। यो सिंगै राष्ट्रकै सहमति हो,' उनले भने। 

प्रधानमन्त्री प्रचण्डले एमालेले पनि सभामुख पाइसकेकाले कतै जानसक्ने ठाउँ नरहेको दाबी गरे। 'अब एमालेलाई पनि कतै जानसक्ने ठाउँ छैन। उहाँहरू प्रतिपक्षमा जान सक्नुहोला। तर फेरि पनि उहाँहरूको सभामुख त हुनुहुन्छ नि,' उनले भने।