काठमाडौं - नेपाली कांग्रेसबाट राष्ट्रपति उम्मेदवार बनेका रामचन्द्र पौडेलले राष्ट्रपतिमा आफ्नो नाम सर्वसम्मत हुने अपेक्षा गरेका छन्। 

राष्ट्रपतिमा मनोनयन दर्ता गराएका पौडेलको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जसपाका नेता अशोक राई र जनमत पार्टीका नेता मोहम्मद अब्दुल खान रहेका छन्। 

त्यस्तै समर्थकमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, कांग्रेस उपसभापति पूर्णबहादुर खड‍्का र नेकपा माओवादी केन्द्रका नेता हितराज पाण्डे छन्।

पौडेलले राष्ट्रपतिमा आफ्नो नाम सर्वसम्मत हुने अपेक्षा र इच्छा रहेको बताएका छन्। राष्ट्रपतिको उम्मेदवारी दर्ता गराउँदै पौडेलले आफूलाई नेकपा एमालेले पनि सहयोग गर्ने विश्वास रहेको बताए। पौडेलले संविधानको अक्षरस पालना गर्ने आफ्नो कर्तव्य हुने र नेपालको परिवर्तनलाई संस्थागत गर्दै अघि बढ्ने बताए। 

उनले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पनि साथ दिने दावी गरेका छन्।