काठमाडौं - विभागीय टोली नेपाल आर्मीले पाँचौं महिला राष्ट्रिय हक्की प्रतियोगिताको उपाधि जितेको छ। 

धनुषाको नक्टाझिजमा भएको पाचौं साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिताको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई २–१ ले पराजित गर्दै नेपाल आर्मीले चौथो पटक उपाधि उचालेको हो।

आर्मीका लागि खेलको १७ औं मिनेटमा सितामाया वलले पहिलो गोल गरेकी थिइन्। खेलको ५२ औं मिनेटमा आर्मीका सरस्वती तामाङले दोस्रो गोल गरिन्। लुम्बिनीका लागि अनन्या वर्नवालले खेलको सुरुवाती गोल गरेपनि अन्य खेलाडीहरुले दोहरो गोल गर्न सकेनन्।

प्रतियोगिताका विजेता विभागिय टोली नेपाल आर्मीले प्रथमको शिल्ड उचाल्दै ७५ हजार रुपैयाँ नगद हात पारे। यस्तै उपविजेता लुम्बिनी प्रदेशले ४० हजार नगद रुपैयाँ प्राप्त गरे। तृतीय स्थान हासिल गरेका मधेस प्रदेशलाई २५ हजार नगद पाए। 

प्रथम, द्वितीय र तृतीय स्थान ल्याएका टिमका खेलाडीलाई मेडर र प्रमाणपत्रसहित पुरस्कृत गरिएको नेपाल हक्की संघका केन्द्रीय सदस्य समेत रहेका टुर्नामेन्ट डाइरेक्टर अशिम शर्माले जानकारी दिए।

स्वर्गीय सहाना प्रधानको स्मृति दिवसको अवसर पारेर हुँदै आएको महिला राष्ट्रिय हक्की प्रतियोगिताको पाँचौ संस्करण नेपाल हक्की संघ तथा मिथिला नगरपालिकाको आयोजनामा नक्टाझिजस्थित रहेको हिमालय युवा क्लबको खेलमैदानमा सम्पन्न भएको छ। 

पाँचवटा संस्करणमा चारवटाको उपाधि नेपाल आर्मीको पोल्टामा गएको छ। पहिलो संस्करण नेपाल आर्मीको टोलीले जितेको थियो भने दोस्रो संस्करणको उपाधि लुम्बिनी प्रदेशले हात पारेको थियो। 

त्यस्तै, तेस्रो र चौथो संस्करणको उपाधि पनि विभागीय टोली नेपाल आर्मीले जितेको थियो।