काठमाडौं - कोशी प्रदेश योजना आयोगका नवनियुक्त दुई सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । आयोगको सदस्यमा नियुक्त भएका तोयानाथ खतिवडा (रुपेश) र हरिकुमारी राईलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथ समारोह मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरिएको थियो । 

प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विराटनगर–३ निवासी खतिवडा र खोटाङकी राईलाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो । 

यसअघि सत्ता गठबन्धनका तर्फबाट नियुक्त नेपाली कांग्रेसनिकट दुई सदस्यले राजीनामा दिएपछि आयोगमा पद रिक्त थियो । रिक्त स्थानमा नयाँ सदस्य नियुक्त गरिएको हो ।

यसैबीच, मन्त्रिपरिषद् बैठकले असोज २२ र २३ गतेका लागि निर्धारित मुख्यमन्त्री सम्मेलनको मिति पनि परिवर्तन गरेको छ । अब सम्मेलन असोज २७ र २८ गते आयोजना हुने निर्णय भएको छ ।