काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रहबर अन्सारीले वीरगन्जस्थित नेसनल मेडिकल कलेजले करिब २५ जना नक्कली प्राध्यापक खडा गरी पोस्ट ग्राजुएट (पीजी) सिट लिएको आरोप लगाएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै अन्सारीले चिकित्सा शिक्षा आयोगको निरीक्षण टोली आउँदा सुरक्षा गार्डलाई बिरामी बनाएर बेडमा सुताउने र नक्कली प्राध्यापक देखाएर राज्यलाई झुक्याउने गरिएको दाबी गरे। उनले कलेजमा मेडिकल शिक्षाका नाममा भइरहेको भनिएको गैरकानुनी गतिविधि र बेथितिबारे तत्काल छानबिन गर्न माग गरे।
अन्सारीका अनुसार कलेजले नेपाली विद्यार्थीबाट परीक्षा पास गराइदिने भन्दै प्रतिविषय ३ लाख रुपैयाँ र विदेशी विद्यार्थीबाट ५ लाख रुपैयाँसम्म असुल्ने गरेको छ। उनले रकम लिएपछि उत्तरपुस्तिकामा आफैं उत्तर लेखेर पास गराउने गरेको आरोपसमेत लगाए।
कलेजले विद्यार्थीलाई करिब १० दिनदेखि होस्टेलबाट निकाल्नुका साथै कलेज प्रवेशमा समेत रोक लगाएको उनको भनाइ छ। विगतका सत्तासीनहरूको संरक्षणका कारण कलेज सञ्चालकमाथि कारबाही हुन नसकेको आरोप लगाउँदै अन्सारीले तत्काल छानबिन गरी प्रभावित विद्यार्थीलाई अन्य कलेजमा व्यवस्थापन गर्न सरकारसँग माग गरे।
यस्तो बेथिति नरोकिए गलत उपचारका कारण निकट भविष्यमै गम्भीर स्वास्थ्य दुर्घटना निम्तिन सक्ने चेतावनीसमेत उनले दिए।


0 comment