काठमाडौं - श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रतिपक्ष र जनताले उठाएका प्रश्न तथा मागको जवाफ सरकारले प्रभावकारी रूपमा दिन नसकेको भन्दै आपत्ति जनाएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा वर्षे अधिवेशनको समीक्षा गर्दै सांसद राईले पटक–पटक आग्रह गर्दा पनि प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराएर प्रश्नको जवाफ लिन नसकेको बताए। उनले मन्त्रीहरूले कतिपय प्रश्नको जवाफ दिए पनि सरकार प्रमुखलाई लक्षित प्रश्नहरूको उत्तर नपाएको गुनासो गरे।
राईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी र सरकारलाई प्रतिपक्षलाई समेटेर अघि बढ्न तथा आफ्नै कारणले सरकार नढाल्न सुझाव दिए। उनले सरकार पाँचै वर्ष टिकेर जनताले अपेक्षा गरेअनुसार काम गर्न सकोस् भन्दै शुभकामना पनि दिए।
उनले विगतका जनआन्दोलनका घटनामा राजनीतिक दलका गतिविधिप्रति देखिएको जनआक्रोश स्मरण गर्दै भ्रष्टाचार नियन्त्रण र जनताका आवाजप्रति गम्भीर हुन सरकारलाई सचेत गराए। संसद्मा सत्तापक्ष र प्रतिपक्षबीचको अभ्यासलाई बेवास्ता नगर्न पनि उनले आग्रह गरे।
अधिवेशन सकिँदा आफू उत्साहका साथ निर्वाचन क्षेत्रमा फर्कन सक्ने अवस्था नरहेको बताउँदै राईले आगामी अधिवेशनमा प्रधानमन्त्रीलाई संसद्मा बोलाउनुपर्ने अवस्था नआओस् र सरकारको कामकारबाहीमा सुधार होस् भन्ने अपेक्षा व्यक्त गरे।


0 comment