काठमाडौं - चाडपर्वमा बढ्ने यात्रुको चापलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाका मुख्य नाका तथा बसपार्कमा यात्रु र सवारी सुरक्षाका लागि एकीकृत अनुगमन तथा चेकजाँच गरिने भएको छ।

काठमाडौं उपत्यकाका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार बसपार्क, कलंकी, नागढुंगा, बल्खु, फर्पिङ, जगाती, चाबहिल, साँखु तथा भीमफेदीतर्फका मुख्य नाकामा नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग, सडक विभाग र महानगरपालिकालगायत निकायको संयुक्त संयन्त्र परिचालन गरिनेछ। शुक्रबारबाट यात्रु कलंकी, चाबहिल, नयाँबसपार्कलगायत ठाउँमा ट्राफिक प्रहरीले यात्रु सहायता कक्षा स्थापना गर्ने भएको छ। यसले यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ। 

चेकजाँचका क्रममा सवारीको यान्त्रिक अवस्था, प्रदूषण, सिट क्षमताभन्दा बढी यात्रु राखे/नराखेको, रुट परमिट तथा सुरक्षा उपकरण परीक्षण गरिनेछ। रुट परमिटबिना सवारी सञ्चालन गर्न नदिइने र आवश्यक परे सम्बन्धित रुट तथा सडकको अवस्था हेरेर अस्थायी परमिट दिन सकिने सुवेदीले बताए।

यात्रु ठगी रोक्न परिचयपत्रसहितका अधिकृत व्यक्तिबाट मात्र टिकट काट्ने व्यवस्था अनुगमन गरिनेछ। यात्रुलाई अनिवार्य टिकट लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ। सम्बन्धित रुट तथा भूगोलमा परिचित सवारीलाई प्राथमिकता दिने विषयमा पनि यातायात व्यवसायीसँग समन्वय गरिएको छ।

सवारी सुरक्षामा प्रविधिको प्रयोगसमेत बढाइएको छ। हालसम्म ३४ सयभन्दा बढी सवारीमा सीसीटीभी तथा ड्यासक्याम जडान भइसकेको र अन्य सवारीमा पनि विस्तारका लागि समन्वय भइरहेको जनाइएको छ।

चाडपर्वका बेला मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति नियन्त्रण गर्न नियमित ब्रेथलाइजर परीक्षण, गस्ती र चेकिङ गरिनेछ। सडकमा समस्या आए तत्काल व्यवस्थापन गर्न सम्बन्धित टोली परिचालन हुने बताइएको छ। यात्रुका लागि सहायता कक्षासमेत सञ्चालन गरिनेछ। कुनै समस्या परे नजिकको ट्राफिक प्रहरी वा प्रहरीसँग सम्पर्क गर्न तथा १०३ वा १०० मा फोन गर्न सकिनेछ।

सुवेदीले चालक र यात्रु दुवैलाई संयमित व्यवहार अपनाउँदै जोखिम मोलेर यात्रा नगर्न र व्यक्तिगत सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

ट्राफिक प्रहरीले रुट परमिट नभएको सवारीमा बिमाको व्यवस्था नभएको र अन्य रुटमा चल्ने सवारीलाई नयाँ ठाउँको बारेमा जानकारी नहुने भएको हुनाले सवारी प्रयोग नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ। ट्राफिक प्रहरीका अनुसार टिकट काटेरमात्र यात्रा गर्नुपर्ने बताएको छ।