काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघमा उठाएका मुद्दाहरूले विश्वकै ध्यानाकर्षण गराएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुनारले प्रधानमन्त्री शाहको सम्बोधन अहिले संसारभर सबैभन्दा बढी हेरिने, लेखिने र पढिने समाचार बनेको दाबी गरे। प्रतिपक्षले प्रधानमन्त्रीको प्रस्तुतिमा 'कन्फिडेन्स' नदेखेको भनी गरेको टिप्पणीप्रति लक्षित गर्दै उनले कडा व्यङ्ग्य प्रहार गरे।
"घिउ खाएपछि जिउमा बल आउँछ भन्ने सुनेको थिएँ, तर के खाएपछि कन्फिडेन्स आउँदो रहेछ? हामी सुन्न चाहन्छौँ," सांसद सुनारले भने, "त्यो ग्रीन टी खाएपछि आउँछ कि गिरीबन्धु टी खाएपछि आउँछ त्यो कन्फिडेन्स?"
उनले विगतका विभिन्न चर्चित भ्रष्टाचार र अनियमितताका काण्डहरू स्मरण गराउँदै प्रतिपक्षमाथि कटाक्ष गरे। "त्यो सुन खाएपछि आउँछ क्विन्टल-क्विन्टलमा कि लडाकुको शिविरको पसिना र रगत खाएपछि आउँछ? त्यो वाइड बडी खाएपछि आउँछ कि बालुवाटार खाएपछि आउँछ? पासपोर्ट खाएपछि आउँछ कि गरिब सुकुम्बासीका लालपूर्जा खाएपछि आउँछ?" भन्दै उनले सदनसमक्ष प्रश्न गरे।
विभिन्न राजनीतिक काण्ड र अनियमिततामा जोडिएकाहरूले प्रधानमन्त्रीको 'कन्फिडेन्स' माथि प्रश्न उठाउनु हास्यास्पद रहेको सङ्केत गर्दै उनले के खाएर त्यस्तो कन्फिडेन्स आउँछ भन्ने कुरा सदनलाई स्पष्ट पार्न माग गरे।


0 comment