काठमाडौं - नेपाली कांग्रेसको संस्थापन इतर समूहले पनि छुट्टै १५औँ महाधिवेशनको तयारी अघि बढाएको छ। पार्टीका दुई पक्षले फरक–फरक मितिमा महाधिवेशन गर्ने तयारी थालेसँगै कांग्रेसभित्र समानान्तर अधिवेशनको अवस्था सिर्जना भएको छ।

पूर्वसभापति शेरबहादुर देउवा पक्षले आफ्नो छुट्टै महाधिवेशनको तयारीका लागि ५५ जिल्लामा संयोजक तोकेको छ। १५औँ महाधिवेशन तयारी समितिका आयोजक तथा पूर्वमहामन्त्री डा. शशांक कोइरालाले ती जिल्लाका लागि संयोजक तोकेका हुन्।

कांग्रेस नेता एनपी साउदका अनुसार आगामी मंसिर २१ देखि २३ गतेसम्म हुने भनिएको महाधिवेशनको तयारीका लागि जिल्ला संयोजक तोकिएको हो। १४औँ महाधिवेशनबाट निर्वाचित अधिकांश जिल्ला सभापति संस्थापन पक्षमा उभिएपछि देउवा समूहले समानान्तर रूपमा अधिवेशन अघि बढाउन जिल्ला संयोजक तोकेको देखिएको छ।

यसैबीच, गगनकुमार थापा नेतृत्वको कांग्रेसले भने १५औँ महाधिवेशनअन्तर्गत वडा तथा नगर अधिवेशन सम्पन्न गरिसकेको छ। निर्धारित कार्यतालिकाअनुसार असोज १० गते क्षेत्रीय अधिवेशन हुँदैछ। अहिले देशभरका स्थानीय तहमा अधिवेशन प्रक्रिया जारी छ।

निर्वाचन कार्यतालिकाअनुसार थापा नेतृत्वको कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ। उता देउवा पक्षले भने मंसिर २१ देखि २३ गतेसम्म छुट्टै महाधिवेशन गर्ने तयारी अघि बढाएको छ। फरक-फरक मिति र प्रक्रियाबाट महाधिवेशन अघि बढेपछि नेपाली कांग्रेसभित्रको विवाद थप चुलिँदै गएको देखिएको छ।