काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ।
पार्टीको आइतबार बसेको केन्द्रीय समिति बैठकले विगतमा सत्ता साझेदार दलसँग भएको सहमति अनुसार गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको हो।
पार्टीका अध्यक्ष रवि लामिछाने गैर नागरिक भएको सर्वोच्चको फैसलाले संसद, उपप्रधान तथा गृहमन्त्री पद र पार्टीको सभापति पद गुमेपछि आइतबार नागरिकता लिएसँगै पार्टी अध्यक्ष चयन भएका छन्। उनी अध्यक्ष भए लगत्तै बसेको पार्टी केन्द्रीय समितिको बैठकले विगतमा सत्ता साझेदार दलसँग भएको समझदारी अनुसार गृहमन्त्रालय पार्टीले छोड्न नसक्ने निस्कर्ष निकालेको हो।
यस विषयमा सत्ता साझेदार दलसँग छलफल गर्ने जिम्मेवारी पनि अध्यक्ष लामिछानेले नै लिएका छन्। उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पार्टीको निर्णय र अडानका बारेमा कुराकानी गरेको स्रोतले जनाएको छ। लामिछानेले पार्टीले गृहमन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएपछि एमाले अध्यक्ष ओली बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गरेका छन्।
दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। छलफलका क्रममा सर्वोच्चको फैसलासँगै लामिछानेले उपप्रधान तथा गृहमन्त्रीबाट राजनीनामा दिएको, अहिले नागरिकता लिएको र फेरि गृहमन्त्रालय नै दावी गरेको विषयमा पनि छलफल भएको थियो।
ओली दाहालले लामिछानेलाई नै गृहमन्त्री बनाउँदा के हुने भन्ने बारे छलफल गरे पनि निष्कर्षमा भने पुगेका छैनन्। आपसी थप छलफल गरी निष्कर्षमा पुग्ने दुई नेताबीच समझदारी भएको छ।
शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध भएको ठहर गरेको थियो। सर्वोच्चको आदेश पछि लामिछानेको सांसद र मन्त्री दुवै पद गुमेको थियो।
लामिछाने गत ११ पुसमा उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएका थिए। नागरिकता सम्बन्धि सर्वोच्चको फैसलासँगै लामिछानेले उपप्रधान एवं गृहमन्त्री लामिछानेले पदबाट राजीनामा दिएका छन्। । गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई दिइएको छ।
0 comment