काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्।

मंगलबार प्रदेश सभामा प्रस्तुत विश्वासको मतसम्बन्धी प्रस्तावमा मुख्यमन्त्री थापा मगरको पक्षमा ५७ मत परेको छ। मतदानमा ५८ जना प्रदेशसभा सदस्य सहभागी भएकामा एक मत विपक्षमा परेको हो। १०४ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीले बहुमत प्राप्त गरेका हुन्।

मुख्यमन्त्री थापा मगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मत लिएका हुन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने विश्वासको मतको मतदान प्रक्रिया बहिष्कार गरेको थियो। नेकपा (एमाले), नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा बागमती प्रदेशमा नयाँ सरकार गठन भएको हो।