काठमाडौं - रसुवास्थित भोटेकोसीमा आएको विनाशकारी बाढीमा परेर हालसम्म १७७ जनाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयले बिहान १० बजे सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो ।
प्राप्त विवरण अनुसार सबैभन्दा धेरै चितवनमा ६९ जनाको शव फेला परेको छ। यसैगरी पूर्वी नवलपरासीमा ३२ जना, धादिङमा २७ जना, गोरखामा २० जना, नुवाकोटमा १२ जना, तनहुँमा ९ जना, पश्चिम नवलपरासीमा ६ जना र रसुवामा २ जनाको शव फेला परेको छ। प्रहरीका अनुसार विभिन्न जिल्लाहरूमा बाढीले बगाएर ल्याएका शवहरू फेला पर्ने क्रम जारी छ।
३३ जना घाइतेको विभिन्न अस्पतालमा उपचार हुँदै
बाढीमा परी घाइते भएका ३३ जनाको राजधानीका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। अस्पतालगत विवरण अनुसार त्रिवि शिक्षण अस्पतालमा १२ जना, ट्रमा सेन्टरमा ८ जना, वीर अस्पतालमा २ जना, नर्भिक अस्पतालमा २ जना, वीरेन्द्र सैनिक अस्पतालमा १ जना र मनमोहन अस्पतालमा १ जना उपचाररत छन्। टिचिङमा उपचार गराइरहेका एक युवकको मृत्यु भएको छ ।
हालसम्म २८ जना प्रहरी कर्मचारीहरू अझै सम्पर्कमा आएका छैनन्। सम्पर्कविहीन रहेका प्रहरी कर्मचारीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।बाढी प्रभावित क्षेत्रमा सुरक्षा तथा उद्धारका लागि कुल ३ हजार ३१८ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ।


0 comment