काठमाडौं - अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीमा फसेका नागरिकको उद्दारका लागि २२ वटा हेलिकप्टर परिचालन गरिएको जानकारी दिए ।
बिहीबार सिंहदरबारमा रास्वपा सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकमा अर्थमन्त्री वाग्लेले प्रारम्भमा २ वटाबाट सुरु गरिएको उद्धार कार्य विस्तार गरी हाल २२ वटा हेलिकप्टरमार्फत तीव्र गतिमा खोजी तथा उद्धार भइरहेको जानकारी दिए।
उनले बाढी प्रभावित क्षेत्रमा अलपत्र परेका नेपाली नागरिक तथा विदेशी पर्यटकहरूको सुरक्षित उद्धार जारी रहेको बताए । घटनाको गम्भीरतालाई हेरेर विश्व बैंकसँग संवाद गरी करिब २५ अर्ब रुपैयाँ बराबरको सहायता जुटाउने पहल गरिएको उनको भनाइ छ । उनले चीन, भारत, जापान सरकारका साथै एसियाली विकास बैंक र रेडक्रसको अन्तर्राष्ट्रिय महासंघबाट तत्काल सहयोगको प्रतिबद्धता प्राप्त भएको जानकारी दिए ।
चालु बजेटमा राहत तथा पुनर्उत्थानका लागि करिब १० अर्ब रुपैयाँ विनियोजित रहेको, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब २ अर्ब ३४ करोड रुपैयाँ मौज्दात रहेको र गृह मन्त्रालयलाई थप १ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए ।
उनले बाढीका कारण करिब २२ देखि २५ वटा पक्की पुल र निजी क्षेत्रसहितका करिब ७०० मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरू क्षतिग्रस्त भएको उल्लेख गरे । राहत र उद्धारपछि २०७२ सालको भूकम्पपछिकै स्तरमा वैज्ञानिक तथ्य–तथ्याङ्क संकलन गरी दीर्घकालीन पुनर्निर्माणको कार्ययोजना बनाइने उनको भनाइ छ ।


0 comment