काठमाडौं - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विवादका विषयमा न्यायपालिकाको निर्णय स्वीकार्ने स्पष्ट पारेका छन् ।
मंगलादेवी सिंहको स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित माल्यापर्ण कार्यक्रममा नेता सिंहले पार्टीको विधान र कानुनविपरीत विशेष महाधिवेशन भएको भन्दै यस विषयमा न्यायपालिकाको निर्णय स्वीकार्ने स्पष्ट पारेका हुन् ।
उनले पार्टीको विधान र कानुनविपरीत ४० प्रतिशत हस्ताक्षरको विषयलाई जबर्जस्ती टेकेर विशेष महाधिवेशन गरिएको र यसले पार्टीलाई अनावश्यक विवादमा फसाएर कमजोर बनाएको जिकिर गरे। नेता सिंहले संस्थापन पक्षले भाषणमा पार्टी मिलाउँछु भन्ने तर वार्ताको नाममा महिनौँ बेपत्ता हुने गरेको आरोप लगाए । उनले विगतमा निर्वाचन आयोग र अदालतको प्रारम्भिक प्रक्रियालाई आफूअनुकूल व्याख्या गर्नेहरूले अहिले मुद्दा अघि बढेपछि ‘कार्यकर्ता र जनतामाझ जानुपर्छ’ भन्न थालेको टिप्पणी गरे ।
पार्टी १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिकै वैधानिक नेतृत्वमा अघि बढ्नुपर्ने र कांग्रेसको ऐतिहासिक मूल्य, मान्यता तथा संस्कार बोकेको विचार नै स्थापित हुनुपर्ने उनले बताए ।


0 comment