काठमाडौं - भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा विपद् जोखिम न्यूनीकरणका लागि संसदीय संयन्त्र गठन गरिने भएको छ । रास्वपाका सभापति रवि लामिछानेको आह्वानमा बिहीबार सिंहदरबारमा आज बसेको सर्वदलीय बैठकले विपद्पछिको दीर्घकालीन पुनर्निर्माण, जलवायु अनुकूलन तथा विपद् व्यवस्थापनसम्बन्धी सरकारी कामकारबाहीको निरन्तर अनुगमन र सहजीकरणका लागि संसदीय समिति गठन गर्ने निर्णय गरेको हो।
बैठकपछि जारी सहमतिपत्रमा विपद् व्यवस्थापनका कामलाई तत्कालीन राहत र प्रतिक्रियामा मात्र सीमित नराखी दीर्घकालीन समाधान खोज्न आवश्यक रहेको उल्लेख गरिएको छ।
संसदीय संयन्त्रले विपद्का बेला राहत तथा उद्धारमा मात्र केन्द्रित नभई विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण र दिगो विकासका एजेन्डामा समेत राष्ट्रिय सहमति निर्माण गर्ने बैठकको निष्कर्ष छ। सहमतिपत्रमा उक्त संयन्त्रले विपद् व्यवस्थापनसम्बन्धी नीतिगत सुधारमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिएको छ।
बैठकले विपद् जोखिम न्यूनीकरणका लागि दीर्घकालीन रणनीति निर्माण गर्दै पुनर्निर्माणका कामलाई प्रभावकारी र दिगो बनाउन सरकारलाई आवश्यक सुझाव तथा सहयोग गर्नेमा समेत जोड दिएको छ।
सहमति पत्रमा रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा संयोजक पुष्पकमल दाहाल, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका सांसद ध्रुव राई, राप्रपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका चन्दन सिंहले हस्ताक्षर गरेका छन्।


0 comment