काठमाडौं - अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गाँजाको व्यावसायिक उत्पादन तथा औषधिजन्य प्रयोगका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकार सकारात्मक रहेको बताएका छन्।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले गाँजा खेतीलाई वैधानिकता दिने विषयमा अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए।
गाँजाको उत्पादन तथा बजारीकरणलाई केवल आय, रोजगारी र राजस्व संकलनसँग मात्र जोडेर हेर्न नहुने उल्लेख गर्दै उनले यसको औषधीय उपयोग र नियन्त्रित प्रयोगका पक्षलाई समेत ध्यान दिनुपर्ने बताए।
विज्ञहरूको अध्ययन तथा निष्कर्षका आधारमा आवश्यक कानुन निर्माण गरी गाँजा खेतीलाई व्यवस्थित गर्न सके अर्थ मन्त्रालयले पूर्ण सहयोग गर्ने उनको भनाइ थियो।
‘गाँजाको व्यावसायिक र औषधिजन्य उपयोगका बारेमा सार्वजनिक बहस भइरहेको छ र विगतका बजेटहरूमा पनि यसको सम्भाव्यता अध्ययन गर्ने विषय उल्लेख भइसकेको छ,’ मन्त्री वाग्लेले भने, ‘नेपालले पनि यसलाई सकारात्मक रूपमा अगाडि बढाउनु आवश्यक छ। यसलाई मैले गम्भीरतापूर्वक लिएको छु।’
गाँजासम्बन्धी विषय मुख्यतः गृह मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने भएकाले आवश्यक अध्ययन र कानुनी निर्क्यौलका लागि गृह मन्त्रालयसँग समन्वय गरिने उनले बताए। गृह मन्त्रालयसँगको समन्वयमा विषयलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता पनि उनले जनाए।
औद्योगिक प्रवर्द्धन तथा सरकारी राजस्व वृद्धिको दृष्टिले गाँजा खेती महत्वपूर्ण हुन सक्ने उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले यस विषयलाई तदारुकताका साथ निष्कर्षमा पुर्याउन आफूले पहल गर्ने बताए।
नेपालमा गाँजाको व्यावसायिक उत्पादन र औषधिजन्य प्रयोगलाई नियमनसहित अघि बढाउने विषयमा पछिल्लो समय सार्वजनिक बहस बढ्दै गएको छ।


0 comment