काठमाडौं - बाजुराको गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्याएपछि उच्च जोखिममा रहेका १४ घरका ११५ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
बिहीबार दिउँसो अविरल वर्षासँगै खसेको पहिरोले ५७ वर्षीय पूर्णिमल बोहरा र ३८ वर्षीया बुदी बोहराको तीनतले घर पूर्ण रूपमा क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेशबहादुर शाहीका अनुसार दुवै घरभित्रका सामान पुरिएका छन् । आसपासका क्षेत्रमा पहिरोको जोखिम कायम रहेकाले १४ घरका ११५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । उनीहरूलाई अस्थायी टहरामा सारिएको छ । पुरिएका सामग्री निकाल्ने प्रयास पनि जारी छ ।
यसैबीच, गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले विस्थापित परिवारलाई राहत सामग्री हस्तान्तरण गर्न पालिकाबाट टोली परिचालन भएको जानकारी दिँदै उनीहरूको सहयोगमा जुट्न स्थानीय सामाजिक सङ्घसंस्थालाई आह्वान गरेका छन् ।


0 comment