काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल विस्तार गरेका छन्। 

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रले सोमबार मन्त्रीहरूको भागबन्डा टुंग्याएसँगै प्रधानमन्त्री प्रचण्डले सरकार बनेको तीन सातापछि मंगलबार मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

प्रधानमन्त्रीले राष्ट्रपति विद्या भण्डारी समक्ष मन्त्रीहरुको नाम सिफारिस गरेका थिए। राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषद्‍मा नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेकी हुन्। 

प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरी २३ सदस्यीय बनाएका छन्। जसमध्ये १५ जना नयाँ छन्। 

पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले पुस ११ मा शपथ ग्रहण गर्दा आफुसँगै तीन उपप्रधानमन्त्री तथा चार मन्त्रीलाई शपथ ग्रहण गराएका थिए। 

प्रचण्ड प्रधानमन्त्री बनेसँगै विष्णुप्रसाद पौडेल उपप्रधानमन्त्री एवं अर्थमन्त्री, नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री, रवि लामिछाने उपप्रधानमन्त्री एवं गृहमन्त्री बनेका थिए। 

दामोदर भण्डारी, राजेन्द्र राई, ज्वालाकुमारी साह र अब्दुल खान विनाविभागीय मन्त्री थिए। आज उनीहरुको मन्त्रालयसहित कार्य विभाजन भएको छ।

१ सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले पुस २६ मा विश्वास मत लिएका थिए। उनलाई २ सय ६८ सांसदले विश्वासको मत दिएका थिए भने २ जना विपक्षमा मत दिएका थिए।