काठमाडौं - अफगानिस्तानमा आएको विनाशकारी बाढीपछि उद्धारकर्मीहरूले जीवितहरूको खोजी जारी राखेका छन् । यसैबीच, फेरि आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ ।

सोमबार पहाडबाट एक्कासी आएको बाढीले पूर्वी नुरिस्तान प्रान्तमा कम्तीमा २३ जनाको ज्यान लिएको थियो । मंगलबार उद्धार टोलीहरूले घरहरूको भग्नावशेषमा फसेकाहरूको खोजी जारी राखे । यस वर्षको मनसुनले दक्षिण एसियाभर व्यापक क्षति पुर्‍याइरहेको छ, र जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी प्रभावित देशहरूमध्ये अफगानिस्तान पनि एक हो ।

नुरिस्तानमा आएको बाढीपछि १०० भन्दा बढी व्यक्ति अझै बेपत्ता छन् । खोजी कार्य जारी रहँदा मौसमविद्हरूले त्यस क्षेत्रमा पुनः बाढी आउन सक्ने चेतावनी दिएका छन् । अफगानिस्तानको यातायात तथा नागरिक उड्डयन मन्त्रालयको मौसम विज्ञान विभागले सोमबार साँझ जारी गरेको पूर्वानुमानअनुसार देशका ३४ मध्ये १० वटा प्रान्तमा भारी वर्षा, चट्याङ, हुरीबतास, धुलोको आँधी तथा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ । प्रान्तीय राजधानी पारुनसहित धेरै स्थानमा बाढीले घरहरू माटो र भग्नावशेषमा परिणत भएका दृश्य सार्वजनिक भएका छन् ।