काठमाडौं - जोर्डनमा इरानी आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाले इरानमाथि नयाँ हवाई आक्रमण गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैनिकहरूको मृत्युलाई "अत्यन्त दुःखद घटना" भन्दै "इरानलाई कहिल्यै पनि आणविक हतियार बनाउन नदिने" बताएका छन्।

यता इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईले ट्रम्पको हस्ताक्षर "कुनै मूल्य नभएको र अमान्य" रहेको टिप्पणी गर्दै अमेरिकाले गत महिना भएको सम्झौता पटक–पटक उल्लंघन गरेको आरोप लगाएका छन्।

यसैबीच कुवेतको सरकारी स्वामित्वको तेल कम्पनीले आफ्नो एक प्रमुख तेल पूर्वाधार इरानी आक्रमणमा परेको जनाएको छ। उता, इराकी सञ्चारमाध्यमहरूका अनुसार ड्रोन आक्रमणको खतरा बढेपछि एर्बिलस्थित अमेरिकी वाणिज्य दूतावासले आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरेको छ।

अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार आक्रमणको मुख्य उद्देश्य इरानले हर्मुज जलमार्ग हुँदै हुने तेल ट्यांकरहरूको आवतजावतमा अवरोध सिर्जना गर्ने क्षमता घटाउनु हो। युद्धअघि विश्वको करिब २० प्रतिशत तेल आपूर्ति यही जलमार्गबाट हुने गरेको थियो।

यो आक्रमण अमेरिकी सेनाले युद्ध सुरु भएयता पहिलो पटक इरानको प्रत्यक्ष आक्रमणबाट अमेरिकी सैनिकको मृत्यु भएको पुष्टि गरेपछि गरिएको हो। शुक्रबार जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि भएको ड्रोन र मिसाइल आक्रमणमा दुई सैनिक मारिएका थिए। सेनाले उनीहरूको परिचय सार्वजनिक गरेको छैन र थप विवरण पनि दिएको छैन।

युद्ध सुरु भएदेखि हालसम्म १६ अमेरिकी सैनिकको मृत्यु भइसकेको छ भने ४३० भन्दा बढी घाइते भएका छन्।