काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामा फैलिएको भीषण डढेलोका कारण अमेरिकाको उत्तरी क्षेत्र धुवाँले ढाकिएपछि क्यानडामाथि नयाँ कर लगाउने चेतावनी दिएका छन्।

क्यानडाका सयौँ जंगलमा लागेको आगलागीबाट निस्किएको धुवाँका कारण अमेरिकाका धेरै उत्तरी राज्यहरू प्रभावित भएका छन्। यस विषयमा अमेरिकी सांसदहरूले चिन्ता व्यक्त गरिरहेका बेला ओन्टारियोका प्रिमियर डग फोर्डले पनि आगो नियन्त्रणका लागि गुनासोभन्दा सहयोग आवश्यक रहेको भन्दै अमेरिकासँग सहयोग मागेका थिए।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भनेका छन् “ अमेरिका अनावश्यक रूपमा फोहोर, प्रदूषित र अस्वस्थ हावाबाट प्रभावित भइरहेको छ।” उनले क्यानडाको “जानाजानी गरिएको लापरवाही” का कारण नयाँ कर लगाउने चेतावनी दिए।

क्यानडियन वाइल्डल्यान्ड फायर इन्फर्मेसन सिस्टमका अनुसार शुक्रबारसम्म क्यानडामा करिब ८८८ वटा डढेलो सक्रिय थिए। तीमध्ये अधिकांश आगो अझै नियन्त्रणबाहिर रहेको बताइएको छ। ओन्टारियोमा मात्रै १९० भन्दा बढी डढेलो फैलिएका छन् जसमध्ये केही नियन्त्रणमा आउन सकेका छैनन्।

ट्रम्पले क्यानडाका प्रधानमन्त्री मार्क कार्नेलाई फोन गरेर आफ्नो देशको “जानाजानी गरिएको लापरवाही” बारे स्पष्टीकरण माग्ने बताएका छन्। उनले क्यानडाले जंगल र झाडी व्यवस्थापन राम्रोसँग नगरेको आरोप लगाए।

यस विषयलाई रिपब्लिकन पार्टीका केही नेताहरूले ट्रम्पको पुरानो प्रस्ताव क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउने विचार पुनः उठाउने अवसरका रूपमा प्रयोग गरेका छन्। यो धारणा धेरै क्यानडेली नागरिकका लागि आपत्तिजनक बनेको छ र केहीले विरोध स्वरूप अमेरिकातर्फको यात्रा रोक्ने बताएका छन्।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले यसअघि जलवायु परिवर्तनसँग जुध्नु दुवै देशको साझा जिम्मेवारी भएको बताएका थिए।

ट्रम्पको टिप्पणीपछि क्यानडाका आपतकालीन व्यवस्थापनसम्बन्धी मन्त्रीले दुवै देश निरन्तर सम्पर्कमा रहेको र यस्ता विपत्तिमा सहकार्य गर्ने लामो इतिहास रहेको बताएका छन्। उनले सन् १९८२ को पारस्परिक अग्नि नियन्त्रण सम्झौता र २०२५ को जी–७ शिखर सम्मेलनबाट विकसित अर्को सहायता सम्झौताको उदाहरण दिएका छन्।

क्यानडाले जंगल संरक्षण र डढेलो रोकथामका लागि करिब १२ अर्ब अमेरिकी डलर लगानी गरेको सांसद एलेनोर ओल्जेव्स्कीले बताइन्।

उनले भनिन् “यो सीमाले रोक्न नसक्ने चुनौती हो। क्यानडा मानिसहरूको सुरक्षा सुनिश्चित गर्न तीव्र गति,सहकार्य र समन्वयका साथ काम गरिरहेको छ।”

पछिल्लो एक वर्षमा अमेरिका र क्यानडाबीचको सम्बन्ध विशेषगरी व्यापारिक विषयका कारण तनावपूर्ण बनेको छ। गत वर्ष ट्रम्पले दशकौँदेखि स्वतन्त्र व्यापार सम्बन्ध रहेको क्यानडामाथि कर लगाएका थिए। अहिलेसम्म दुवै देशले नयाँ व्यापार सम्झौतामा सहमति जुटाउन सकेका छैनन्।