काठमाडौं - अमेरिकी सेनाले लगातार छैटौँ रात पनि इरानमाथि नयाँ हवाई आक्रमण गरेको जनाएको छ।
यसैबीच दुवै पक्षले रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिने होर्मुज जलमार्गमाथि नियन्त्रण कायम गर्न संघर्ष जारी राखेका छन्।
अमेरिकी केन्द्रीय कमाण्डका अनुसार यी आक्रमणहरू इरानको सैन्य क्षमता थप कमजोर पार्ने उद्देश्यले गरिएका हुन्। सेनाले होर्मुज जलमार्गमा लागू गरिएको नाकाबन्दीका क्रममा एउटा जहाजमा नियन्त्रणसमेत लिएको जनाएको छ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी मिसाइलहरूले जलडमरूमध्य नजिकै रहेको केश्म टापु, बन्दर अब्बास तथा आणविक ऊर्जा केन्द्र रहेको बुशेहर क्षेत्रमा आक्रमण गरेका छन्।
तनाव थप चर्किएको संकेतस्वरूप, होर्मोजगान प्रान्तका दुई वटा पुल पनि आक्रमणमा परेको इरानी सञ्चारमाध्यमले जनाएको छ। बन्दर अब्बासको पश्चिममा रहेको एउटा पुलमा भएको आक्रमणको स्वतन्त्र रूपमा पुष्टि गरेको छ।
यसअघि यो साताको सुरुआतमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए त्यहाँका पुल र विद्युत् केन्द्रहरूमा आक्रमण गर्ने चेतावनी दिएका थिए।
अप्रिलमा ट्रम्पले पुल र विद्युत् केन्द्र लगायत इरानको नागरिक पूर्वाधारमा बमबारी गर्ने चेतावनी दिएपछि संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टुर्कले जानाजानी नागरिक तथा नागरिक पूर्वाधारलाई निशाना बनाउनु युद्ध अपराध हो भन्ने प्रतिक्रिया दिएका थिए।
सन् १९४९ का जेनेभा महासन्धिहरूले युद्धका बेला नागरिकका लागि अत्यावश्यक मानिने पूर्वाधारमा आक्रमण गर्न निषेध गरेका छन्।
यसैबीच सेन्ट्रकमले मंगलबार रातिदेखि सुरु गरिएको इरानी बन्दरगाहमाथिको नयाँ नाकाबन्दीको क्रममा ओमानको खाडीमा रहेको एउटा तेल ट्याङ्करमा अमेरिकी सैनिकहरूले नियन्त्रण लिएको पनि जनाएको छ।


0 comment