काठमाडौं - नेपाली कांग्रेसले गठबन्धन टुट्नुमा कांग्रेस दोषी नभएको जनाएको छ। 

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन टुट्नुमा कांग्रेस दोषी नभएको प्रष्ट पार्दै हालको सत्ता गठबन्धन अवसर केन्द्रित गठबन्धन भएको बताए। 

महतले भने, ‘प्रचण्डलाई सरकारको नेतृत्व दिएर गठबन्धन बचाउने कि भन्नेबारे निर्णयमा पुग्ने समय भएन। यो गठबन्धन अवसर केन्द्रित गठबन्धन हो। राजतन्त्र चाहिने, नचाहिने, संघीयताको विरोध र समर्थन गर्ने विभिन्न रूप रङका पार्टी छन्,’ उनले भने। उनले कांग्रेस सशक्त प्रतिपक्षी बन्ने बताए। 'कांग्रेसले संसदमा प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्छ। सरकारका गलत क्रियाकलापको भण्डाफोर गर्छ।'

‘हाम्रै गठबन्धनको सरकार बन्छ भन्ने जनअपेक्षा थियो। गठबन्धनका नेतृत्वले पनि गठबन्धन नभत्किने प्रतिबद्धता गरेका थिए। प्रचण्ड प्रतिबद्धता पूरा नगरी गठबन्धन छोडेर जानुभयो। यद्यपि हामीले गठबन्धनलाई निरन्तरता दिने कोसिस गरेका थियौं’, उनले भने।

वैकल्पिक समर्थन जुटाउने विषयलाई आफूहरूले कहिल्यै प्राथमिकता नदिएको उनको भनाइ छ।