काठमाडौं - प्रतिकूल मौसमका कारण पोखरा–जोमसोम नियमित हवाई सेवा तीन महिनाका लागि स्थगित गरिएको छ। निरन्तर वर्षाका कारण दृश्य क्षमता (भिजिबिलिटी) घटेपछि जेठको तेस्रो सातादेखि भदौको पहिलो सातासम्म यात्रुबाहक उडान बन्द गरिएको हो।
जोमसोम विमानस्थलका प्रमुख दीपक पोखरेलका अनुसार नियमित उडान गर्दै आएका निजी वायुसेवा कम्पनी तारा एयर र समिट एयरले वर्षायामभर सेवा स्थगित गरेका छन्।
विमानस्थल प्रमुख पोखरेलले भने, “बर्खा र जाडोयाममा मौसमका कारण नियमित हवाई उडान सञ्चालन गर्न कठिन हुन्छ। आवश्यक परे आपत्कालीन तथा चार्टर उडान भने सञ्चालन गर्न सकिन्छ।”
उनका अनुसार निजी वायुसेवा कम्पनीहरूले भदौको पहिलो सातादेखि नियमित उडान पुनः सञ्चालन गर्ने जानकारी दिएका छन्। वर्षायाममा प्रतिकूल मौसमसँगै पर्यटकको आगमनसमेत घट्ने भएकाले उडान प्रभावित हुने गरेको छ।
पोखरा–जोमसोम रुटमा तारा एयर र समिट एयरले ट्विनअटर जहाजमार्फत नियमित यात्रु सेवा सञ्चालन गर्दै आएका छन्। अत्यधिक हावाहुरी र प्रतिकूल मौसमका कारण यो रुटमा उडान प्रायः बिहानको समयमा मात्रै सञ्चालन हुने गरेको छ।
नियमित यात्रुबाहक हवाई सेवा स्थगित भए पनि मुक्तिनाथ मन्दिर र दामोदर कुण्ड क्षेत्रको दर्शन तथा भ्रमणमा जाने धार्मिक पर्यटकका लागि आवश्यकताअनुसार हेलिकप्टर सेवा सञ्चालन भइरहेको छ।


0 comment