काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सञ्चारगृहको प्रवेशद्वार अवरुद्ध हुने गरी पार्किङ गरिएका सवारीसाधनको विषयमा छानबिन गरी दोषीमाथि कारबाही गरिने बताएका छन्।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले उक्त घटनाबारे पार्टीको धारणा स्पष्ट रहेको उल्लेख गर्दै संलग्न व्यक्ति रास्वपाकै कार्यकर्ता भए पनि कारबाही हुने बताए।

पार्टीले यसअघि जारी गरेको विज्ञप्तिमा समेत घटना गलत भएको भन्दै छानबिन गरी कारबाही गर्नुपर्ने धारणा सार्वजनिक गरेको र त्यसमा अहिले पनि अडिग रहेको उनले बताए।

रास्वपाकै कार्यकर्ता संलग्न भए कारबाही हुन्छ कि हुँदैन भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले कुनै पनि अवस्थामा कारबाही हुने स्पष्ट पारे।

यसैबीच, सभापति लामिछानेले प्रधानमन्त्री बालेन शाहसँग भएको भेटबारे पनि जानकारी दिए। भेटमा सुकुमवासी समस्या समाधानसहित समसामयिक राजनीतिक विषयमा छलफल भएको उनले बताए।

“विशेषगरी सुकुमवासी समस्या समाधानलाई प्रभावकारी बनाउने विषयमा छलफल भयो। साथै राष्ट्रिय राजनीति र आगामी परिस्थितिका विषयमा परिणाममुखी छलफल भएको छ,” उनले भने।