काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभाको बैठकमा सहभागी भए पनि आधा घण्टा नबसी बाहिरिएका छन्। मंगलबार उनी बैठक सुरु भएको केहीबेरपछि संसद् भवन पुगेका थिए र करिब २० मिनेट बसेर बाहिरिए।
प्रधानमन्त्री शाह दिउँसो १ बजेर ३७ मिनेटमा रास्वपा सभापति रवि लामिछानेसँगै प्रतिनिधिसभा बैठक कक्षमा प्रवेश गरेका थिए। बैठकमा प्रवेश गर्नुअघि उनले सभामुख डोलप्रसाद अर्यालसँग करिब ५ मिनेट छलफल गरेका थिए।
संसदीय मर्यादासम्बन्धी प्रश्न उठिरहेका बेला प्रधानमन्त्री शाह छोटो समय मात्रै संसद् बैठकमा उपस्थित भएको विषयले फेरि चर्चा पाएको छ। संसद् बैठकमा शाहसँगै उपस्थित भएका रास्वपा सभापति लामिछाने भने बैठकमै रहेका थिए।
गत जेठ १७ गते प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै पहिलोपटक संसद् बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको हुन सक्ने आशयको अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिको सत्तापक्ष तथा प्रतिपक्षका विभिन्न नेताहरूले आलोचना गर्दै आएका छन्।
सीमा सम्बन्धी उक्त अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले जेठ १७ गतेदेखि नै संसद्मा निरन्तर विरोध जनाउँदै आएका छन्। उनीहरूले प्रधानमन्त्री स्वयंले संसद्मार्फत आफ्नो भनाइ स्पष्ट पार्नुपर्ने माग राख्दै आएका छन्।


0 comment