काठमाडौं - शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सिरहाको एक कार्यक्रममा विवाद भएपछि बोल्दाबोल्दै हलबाट निस्केर छन्।
शनिबार सिराहाको औरही गाउँपालिकाको सभाहलमा आयोजित शैक्षिक सुझाव संकलन कार्यक्रममा विवाद सिर्जना भएको थियो ।कार्यक्रम हलमा विवादसँगै होहल्ला भएपछि मन्त्री पोखरेलले आफ्नो मन्तव्य पूरा नगरी बिचमै छाडेर हिँडेका हुन्।
शिक्षामन्त्री पोखरेलको सचिवालयका मान्छेले कार्यक्रम छोट्याउन भन्दै पूर्व निर्धारित बक्ताहरुको नाम कटौती गरेपछि विवाद सिर्जना भएको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवले बताए । कार्यक्रमको पूर्वनिर्धारित तालिकाअनुसार मन्तव्यका लागि समय तय गरिएका वक्ताहरूलाई बोल्न नदिई मन्त्री पोखरेलले बोल्न थालेपछि जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश महतोले असन्तुष्टि जनाएपछि विवाद सिर्जना भएको थियो।
कार्यक्रममा सहभागीहरुले आआफ्ना धारणा राखिसकेपछि ढिलोगरी मन्त्री पोखरेल कार्यक्रमस्थलमा पुगेका थिए। शिक्षा समन्वय इकाइँ सिराहाले आयोजना गरेको कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, व्यवस्थापन समितिका पदाधिकारी लगायतलाई आमन्त्रण गरिएको थियो।
यसैबीच शिक्षामन्त्री पोखरेलले शिक्षा सुधारका लागि मधेस प्रदेशमा भइरहेको सुझाव सङ्कलन कार्यक्रमलाई प्रभावित पार्नेगरी घटनाको सन्दर्भ तोडमोड गरेर भ्रामक प्रचार गरिएको बताएका छन् ।
मन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कुनै पनि भ्रम वा भ्रामक प्रचारले शिक्षा सुधारको मूल उद्देश्यलाई रोक्न नसक्ने स्पष्ट पारे । उनका अनुसार सिरहा र सप्तरीमा आयोजित अन्तरक्रियामा १०० भन्दाबढी विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालाको सहभागिता थियो ।


0 comment