काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद ऐन महरले संसद्‌मा जनसरोकारका विषय उठाउँदा र सरकारको आलोचना गर्दा आफूलाई निरन्तर ज्यान मार्ने धम्की आइरहेको भन्दै सदनको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद महरले आफूहरू सरकारको विरोधका लागि मात्रै विरोध गर्ने पक्षमा नरहेको स्पष्ट पारे। उनले गुण र दोषका आधारमा सरकारका कामको समर्थन वा आलोचना गर्ने आफ्नो धारणा रहेको बताए।

तर, जनताका मुद्दा उठाउँदा र सरकारलाई सही बाटो देखाउन खोज्दा सामाजिक सञ्जाल तथा फोनमार्फत निरन्तर धम्की आउने गरेको उनले बताए। उनले हालै आफ्नो फेसबुक स्टाटसको कमेन्टमा दुई जनाले गोली हानेर मार्ने धम्की दिएको भन्दै धम्की दिने व्यक्तिहरूको विवरणसमेत संसद्‌मा प्रस्तुत गरे।

सांसद महरका अनुसार ‘पराजुली राम’ नामको फेसबुक आईडीबाट गोली हानेर मार्ने धम्की आएको थियो। उक्त व्यक्तिले कमेन्टमै काठमाडौंको बौद्ध–६, महाँकाल चोक, संगमटोल ठेगाना र मोबाइल नम्बरसमेत उल्लेख गरेको उनले बताए। यस्तै, ‘पूर्ण विक्रम क्षेत्री’ नामको फेसबुक अकाउन्टबाट समेत गोली हान्ने धम्की आएको उनले संसद्‌मा जानकारी गराए।

जनप्रतिनिधिले संसद्‌मा जनताको आवाज उठाउँदा खुला रूपमा ज्यान मार्ने धम्की आउनु गम्भीर विषय भएको भन्दै सांसद महरले सभामुखमार्फत सदन र सरकारको ध्यानाकर्षण गराए। उनले यस्ता घटनाको छानबिन गरी जनप्रतिनिधिको सुरक्षामा आवश्यक कदम चाल्न माग गरे।