काठमाडौं - मेटाले पछिल्लो ६ महिनामा भारतमा करिब एक लाख ६० हजार अकाउन्ट हटाएको जनाएको छ । बालबालिकासँग सम्बन्धित आपत्तिजनक सामग्रीबारे बढ्दो चिन्ताका बीच कम्पनीले यो कदम चालेको हो । मेटाका अनुसार बालबालिकाको सुरक्षा कम्पनीको सबैभन्दा ठूलो प्राथमिकता हो । त्यसैले प्लेटफर्ममा हुने शंकास्पद गतिविधिमाथि निरन्तर निगरानी राखिँदै आएको छ र नियम उल्लंघन गर्ने अकाउन्टविरुद्ध कडा कारबाही गरिन्छ ।
कम्पनीले धेरै प्रयोगकर्ताले आपत्तिजनक सामग्री सिधै सामाजिक सञ्जालमा पोस्ट नगरी बाह्य वेबसाइट वा मेसेजिङ प्लेटफर्मका लिङ्क पठाउने गरेको पनि जनाएको छ । यस्ता गतिविधि पहिचान गर्न मेटाले कृत्रिम बुद्धिमत्ता (एआइ) प्रणाली र आफ्ना सुरक्षा टोलीको सहयोग लिएको छ ।
मेटाका अनुसार हटाइएका अकाउन्टहरूले बालबालिकामाथिको यौन शोषणसँग सम्बन्धित हुन सक्ने शंकास्पद बाह्य लिङ्कहरू साझा गरिरहेका थिए। कम्पनीले यस्तो सामग्री वा त्यससँग सम्बन्धित कुनै पनि नेटवर्कलाई आफ्नो प्लेटफर्ममा स्थान नदिने स्पष्ट पारेको छ । त्यसैले ठूलोस्तरमा अकाउन्ट हटाउने कारबाही गरिएको हो ।
मेटाले शंकास्पद अकाउन्टहरूको पहिचान प्रयोगकर्ताको रिपोर्टमा मात्र निर्भर नभई, आफ्नै एआइ आधारित प्रणाली र विशेष सुरक्षा टोलीको सहयोगमा गरिएको जनाएको छ । बालबालिकाको सुरक्षालाई थप मजबुत बनाउन कम्पनीले पछिल्ला महिनाहरूमा टीन अकाउण्ट, सुधारिएका गोपनीयता सेटिङ्स, तथा शंकास्पद सन्देश पहिचान गर्ने नयाँ सुरक्षा उपकरणहरू पनि सार्वजनिक गरेको छ ।
कम्पनीले बालबालिकामाथिको यौन शोषणसँग सम्बन्धित कुनै पनि गतिविधिप्रति ‘शून्य सहनशीलता’ नीति अपनाएको जनाएको छ । यस्ता सामग्री, अकाउन्ट र नेटवर्कको पहिचान गरी हटाउने काम निरन्तर भइरहेको र आवश्यक परे सम्बन्धित निकायहरूसँग विवरण पनि साझा गरिने कम्पनीको भनाइ छ ।


0 comment