अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी आधार शिविर बनाउने आफ्नो योजना अन्तर्गत त्यहाँ पठाइने रोबोटिक अवतरण यन्त्र (ल्यान्डर), उफ्रने ड्रोन र गाडीहरूको विस्तृत विवरण सार्वजनिक गरेको छ।
अमेजनका संस्थापक जेफ बेजोसको अन्तरिक्ष कम्पनी 'ब्लु ओरिजिन'सहित अन्य केही निजी कम्पनीहरूलाई यी अत्याधुनिक मेसिनहरू बनाउने जिम्मेवारी दिइएको छ।
अमेरिकाले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सन् २०२९ मा समाप्त हुनुअघि नै अमेरिकी अन्तरिक्ष यात्रीहरूलाई पुनः चन्द्रमाको सतहमा उतार्ने लक्ष्य राखेको छ। तर, चन्द्रमामा पुग्ने यस दौडमा चीनबाट कडा प्रतिस्पर्धा भइरहेकाले नयाँ अन्तरिक्ष प्रतिस्पर्धामा आफूलाई अगाडि देखाउन नासामाथि ठूलो राजनीतिक दबाब छ।
चीन पनि सन् २०३० सम्ममा चन्द्रमामा मानव पठाउने आफ्नो योजनामा तीव्र गतिमा अघि बढिरहेको छ। चीनले हालै मात्र आफ्नो नयाँ अन्तरिक्ष यान प्रक्षेपण गरी आफ्नै अन्तरिक्ष केन्द्रमा अन्तरिक्ष यात्रीहरूको टोली पठाइसकेको छ।
यसअघि नासाले सन् २०३२ सम्ममा चन्द्रमाको दक्षिणी ध्रुवमा आणविक र सौर्य ऊर्जाबाट चल्ने स्थायी शिविर निर्माण गर्न २० बिलियन डलरको ठूलो प्याकेज घोषणा गरेको थियो। नासाका प्रशासक जेरेड आइस्याकम्यानले यी नयाँ घोषणाहरूसँगै अब अमेरिकाले चन्द्रमामा आफ्नो उपस्थिति कहिल्यै नगुमाउने दाबी गरेका छन्।
चन्द्रमामा स्थायी शिविर बनेपछि अमेरिकालाई वैज्ञानिक प्रयोगहरू गर्न, मूल्यवान प्राकृतिक स्रोतहरूको उत्खनन गर्न र त्यहाँबाट मंगल ग्रहको यात्रा थप सहज बनाउन मद्दत पुग्नेछ। यद्यपि, अधिकांश विज्ञहरूले भने नासाको यो समयतालिका अवास्तविक र चुनौतीपूर्ण रहेको बताएका छन्।
पछिल्लो समय अमेरिकाले आफ्ना चार अन्तरिक्ष यात्रीलाई चन्द्रमाको परिक्रमा गराउने दोस्रो चरणको अभियान सफलतापूर्वक सञ्चालन गरे पनि, केही वैज्ञानिकहरू चीन नै चन्द्रमाको सतहमा मानिस उतार्ने अर्को देश बन्ने सम्भावना बढी देख्छन्। चन्द्र वैज्ञानिक डा. सिमियन बार्बरका अनुसार मानव बोक्ने सुरक्षित यानको व्यवस्थापनमा नासाले ढिलाइ गरिरहेकाले चीन पहिले पुग्यो भने अचम्म मान्नुपर्ने छैन।


0 comment