काठमाडौं - नासाको आर्टेमिस दोस्रोका अन्तरिक्ष यात्रीहरू बिहीबार राति इन्जिन प्रज्वलन गर्दै चन्द्रमातर्फ तीव्र गतिमा अघि बढेका छन् ।

जसले अपोलो प्रोग्रामपछि दशकौँसम्म मानवलाई पृथ्वीको नजिकैको कक्षामा सीमित राख्ने अवस्थाबाट मुक्त गराएको छ।

“ट्रान्सलुनर इग्निशन” भनिने यो प्रक्रिया उडान सुरु भएको २५ घण्टापछि सम्पन्न भएको हो ।  जसले तीन अमेरिकी र एक क्यानडाली अन्तरिक्ष यात्रीलाई अर्को हप्ताको सुरुतिर चन्द्रमाको परिक्रमा गर्ने मार्गमा राख्यो। उनीहरूको ओरियन स्पेसक्राफ्ट पृथ्वीको कक्षाबाट ठीक समयमा बाहिर निस्केर करिब २,५०,००० माइल (४,००,००० किलोमिटर) टाढा रहेको चन्द्रमातर्फ अघि बढ्यो।

नासाकी लोरी ग्लेजले पत्रकार सम्मेलनमा भनिन्, “महिला तथा सज्जनहरू, म अत्यन्तै उत्साहित छु, सन् १९७२ मा अपोलो १७ पछि पहिलो पटक मानवले पृथ्वीको कक्षा छोडेका छन्।”

उनका अनुसार इन्जिन प्रज्वलन प्रक्रिया पूर्ण रूपमा सफल रह्यो।

क्यानडाली अन्तरिक्ष यात्री जरेरेमी ह्यानसेनले आफू र उनका सहयात्रीहरू पृथ्वीलाई पछाडि छोड्दै क्याप्सुलका झ्यालमा टाँसिएर “अद्भुत” दृश्य अवलोकन गरिरहेको बताए। उनीहरूको अनुहार यति नजिक थियो कि झ्याल सफा गर्नुपरेको थियो।

ह्यान्सनले भने “मानवजातिले फेरि एकपटक हामी के गर्न सक्षम छौं भन्ने देखाएको छ र भविष्यका तपाईंहरूका आशाहरूले हामीलाई यस चन्द्र यात्रामा अघि बढाइरहेका छन्।”

नासालेआर्टेमिस दोस्रो टोलीलाई चन्द्रमातर्फ पठाउनु अघि एक दिनसम्म पृथ्वी नजिकै राखेर क्याप्सुलको जीवन समर्थन प्रणाली परीक्षण गरेको थियो।

अब चन्द्रमातर्फ अघि बढिसकेको यो परीक्षण उडान नासाको दीर्घकालीन योजना चन्द्रमामा आधार शिविर स्थापना र दीर्घकालीन बसोबासको सुरुवाती चरण हो।

कमाण्डर रेड वाइजम्यान पाइलट भिक्टर ग्लोबर, क्रिस्टिना कोच र जेरेमी ह्यानसेन चन्द्रमालाई पार गर्दै परिक्रमा गर्नेछन्  त्यहाँ अवतरण नगरी यूटर्न गर्दै सिधै पृथ्वी फर्किनेछन्।

यस क्रममा उनीहरूले पृथ्वीबाट अहिलेसम्म कुनै पनि मानवले गरेकोभन्दा टाढासम्म यात्रा गर्नेछन् जसले सन् १९७० मा अपोलो १३ ले बनाएको दूरीको कीर्तिमान तोड्नेछ। साथै अप्रिल १० मा उडान समाप्त हुँदा पृथ्वीमा पुनःप्रवेश  गर्ने क्रममा उनीहरू सबैभन्दा तीव्र गतिका मानवसमेत बन्न सक्नेछन्।