काठमाडौं - पश्चिम नेपालका विभिन्न जिल्लामा शुक्रबार बिहानदेखि सुरु भएको हावाहुरीसहितको वर्षा अहिले काठमाडौं उपत्यकामा प्रवेश गरेको छ। उपत्यकाका विभिन्न स्थानमा असिनासहित वर्षा भइरहेको छ ।

वर्षासँगै आएको बाक्लो बादलका कारण दिउँसै अन्धकार जस्तो अवस्था सिर्जना भएको छ। अचानक मौसम परिवर्तन भई उज्यालो घटेपछि सवारीसाधन सञ्चालन, पैदल यात्रु तथा दैनिक गतिविधिमा समेत कठिनाइ उत्पन्न भएको देखिएको छ।

यसअघि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका विभिन्न जिल्लामा पनि हावाहुरीसहित वर्षा भएको थियो। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा गराउने मौसमी प्रणाली क्रमशः उत्तर–पूर्वतर्फ सर्दै गएको छ।

महाशाखाले देशका विभिन्न स्थानमा अझै पनि वर्षा, असिना र हावाहुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।