नागरिक समाजले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मत बदर संख्या बढेको निष्कर्ष निकालेको छ

शुक्रबार काठमाडौंमा निर्वाचन पर्यवेक्षणका निष्कर्ष सार्वजनिक गर्दै नागरिक समाजले मतदाता शिक्षा सामाग्री वितरण र पहँचमा क्षेत्रगत असमानता रहेको पाइएको र मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मत बदर संख्या बढेको जनाएको हो । 

त्यस्तै मतदाता नामावली त्रुटिपूर्ण रहेको, मतदानका दिनसम्म पनि मतदान केन्द्रको ३०० मिटर परिधिमित्र प्रचार सामाग्री नहटाइएको पाइएको गैरसरकारी संस्था महासंघ, नेपाल तथा नागरिक समाज प्रतिनिधिमण्डलका अध्यक्ष अर्जुनकुमार भट्टराईले जानकारी दिए ।

त्यस्तै उनले निर्वाचन खर्चको पारदर्शीताका साथै वैध स्रोतबारे अध्ययन गर्न निर्वाचन आयोगलाई सुझाव दिए । निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन सुरक्षा निकायबीच समन्वय सुदृढका साथै बढ्दो खर्च घटाउनेतर्फपनि आगामी दिनमा पहल गरिनुपर्ने उनले बताए ।

त्यसैगरी समाजले निर्वाचन सम्बन्धी कानून र ऐनहरु संशोधन गरी अन्तरजिल्ला र देश बाहिर रहेका नेपाली नागरिकलाई मतदान सुनिश्चितको व्यवस्था गर्न पनि सुझाव दिएको छ भने विभिन्न चुनौतीकाबीच तोकिएको समयमा नै निर्वाचन सम्पन्न गरेर सरकारले लिएको दायित्व जिम्मेवारीपूर्णक सम्पन्न गरेको निष्कर्ष निकालेको छ ।