काठमाडौँ : काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही गरिने जनाएको छ ।

ग्यास हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने, अब ग्यास को धेरै मूल्य लिने, इन्धन डिपोहरूमा तेल मौज्दात हुँदाहुँदै छैन भनेर उपभोक्तालाई फर्काउने गरिएको गुनासो आउन थालेपछि महानगरले निगरानि बढाएको छ।

ग्यास छैन भन्ने गलत सूचना प्रवाह गरेर मूल्य बढी लिने तथा सर्वसाधारणको जनजीवनमा असहज परिस्थिति सिर्जना गर्नेमाथि कारबाही गर्ने महानगरपालिकाले जनाएको छ । 

ग्यास अभाव हुने आशङ्कामा उपभोक्ताले बढी भण्डारण गर्ने गरेकाले पनि बजारमा अभाव देखिएको महानगरपालिकाका अधिकारीलो भनाइ छ । 

पेट्रोल पम्पहरूले पनि आफूसँग मौज्दात इन्धन भएर पनि छैन भनी सवारीसाधनलाई उपलब्ध नगराउने सूचना पाइएको जनाउँदै उनले यसमा महानगरले निगरानी थालेको बताए । 

ग्यास र इन्धन अभाव सिर्जना गर्ने क्रियाकलाप देखेमा तथ्यमा आधारित विवरण महानगरपालिकाका ‘हटलाइन नम्बर’ ११८० मा टिपाउन सकिने व्यवस्था मिलाइएको छ । यसरी प्राप्त विवरणका आधारमा कामपाले निगरानी गर्नेछ । 

ग्यास बिक्रेता महासङ्घ, नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार भारतबाट आउने ग्यास अहिलेसम्म नियमित छ । महानगरपालिकाले सञ्चितिका लागि माग नगर्न उपभोक्तासँग आग्रह गरे ।