काठमाडौं - जय मातृभूमि पार्टीको केन्द्रीय समितिको सातौँ बैठक काठमाडौं बत्तिसपुतलीस्थित पार्टीको केन्द्रीय कार्यालय (आमा घर) मा सम्पन्न भयो ।

पार्टीका अध्यक्ष श्री रामशरण पाण्डेको अध्यक्षतामा सम्पन्न बैठकले संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यका साथ विभिन्न समसामयिक तथा संगठनात्मक विषयमा गम्भीर छलफल गरेको छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिबाट भएका निर्णयहरूको अनुमोदन गरिएको थियो । पार्टीका सदस्यहरुले संगठनलाई अझ सशक्त र चलायमान बनाउने दिशामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै बैठकमा वर्तमान राजनीतिक अवस्था, संगठन विस्तार, आगामी कार्यक्रम तथा जनतामाझ पार्टीको विचार र अभियानलाई प्रभावकारी रूपमा पुर्‍याउने विषयमा समेत व्यापक छलफल भएको थियो । बैठकमा सहभागी अधिकांस केन्द्रीय सदस्यहरूले पार्टीलाई राष्ट्रिय राजनैतिक शक्तिका रूपमा स्थापित गर्न सबै तहका नेता–कार्यकर्ताले अझ सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिएका थिए ।

       बैठकमा सरकारको १०० दिनको काम कार्यको समिक्षा गर्दै सरकार असफल दिशामा रहेको निष्कर्ष निकाल्दै सरकारले गरेको एक पछी अर्को राष्ट्र र जनहित विपरित अपरिपक्व कार्यको भत्र्सना गरेको छ । शिक्षा, स्वास्थ्य, विद्युत, स्टक मार्केट र राइडशेयरिङ जस्ता जनजिविकासँग प्रत्यक्ष जोडिने क्षेत्रमा लगाइएको करको चर्को विरोध गरिएको थियो । सुशासनको चर्को नारा लगाएर आएको झण्डै दुईतिहाई नजिकको सरकारले सांससदहरुको स्वकिय सचिवको नियुक्ति प्रकरण र मन्त्रिमण्डलको स्वकिय र सल्लाहकारमा गरिएको भारी संख्यामा नियुक्ति सुशासनको भद्धामजाक भएको निष्कर्ष निकालेको छ ।

जय मातृभूमि पार्टीले राष्ट्रियता, सुशासन समृद्धि, नागरिकतन्त्र र नेपालवादलाई पार्टीको मार्गदर्शक सिद्धान्त मान्दै आएको छ । राष्ट्रिय स्वाभिमान, पारदर्शिता र जनउत्तरदायी राजनीतिक संस्कृतिप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै संगठनलाई देशव्यापी रूपमा थप सुदृढ र सशक्त बनाउनुका साथै सरकारले गरेका राष्ट्र र जनहित विपरित कार्यको राष्ट्रव्यापि भण्डाफोर गर्ने अभियानलाई निरन्तरता दिने जनाएको छ ।