प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख (एसपी) बसुन्धरा खड्कालाई कदरपत्र प्रदान गरिएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले बिहीबार भद्रपुरमा आयोजित कार्यक्रममा कदरपत्र प्रदान गर्दै एसपी खड्कालाई सम्मान गरेको हो। निर्वाचनको क्रममा सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउँदै झापाभर स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गराउन प्रहरी नेतृत्वले महत्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई सम्मान गरिएको जनाइएको छ।

निर्वाचन अवधिभर जिल्लाभर सुरक्षा संयन्त्रलाई परिचालन गर्दै सम्भावित चुनौती व्यवस्थापन, मतदान केन्द्रहरूको सुरक्षा र समन्वयात्मक कार्यमा प्रहरीको सक्रियता उल्लेखनीय रहेको बताइएको छ।

मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुईटेलले निर्वाचनलाई व्यवस्थित र विश्वसनीय बनाउन सुरक्षा निकायको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रहरी नेतृत्वको भूमिकाको प्रशंसा गरेका थिए।