काठमाडौं - सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा प्रेमी भनिएका १६ वर्षीय किशोरले प्रहरीसमक्ष दिएको बयान सार्वजनिक भएको छ। उनले बयानमा सामूहिक बलात्कार नभएको दाबी गर्दै आफूले समस्या परेपछि साथीहरूलाई सहयोगका लागि मात्र बोलाएको बताएका छन्।
उनका अनुसार फागुन २३ गते शनिबार बिहान करिब ७ बजे उनी र इनिशा आपसी सल्लाहमै वीरेन्द्रनगरस्थित सहिद पार्क नजिकको जंगलतर्फ गएका थिए। उनले इनिशाका लागि काँटा, चुरा लगायतका उपहार पनि ल्याएको बताएका छन्।
किशोरका अनुसार उनीहरू करिब २ वर्षदेखि सम्बन्धमा थिए र यसअघि पनि शारीरिक सम्बन्ध भइसकेको थियो। सो दिन पनि लामो समय गफगाफ गरेपछि दुवैको सहमतिमा शारीरिक सम्बन्ध भएको उनले बयानमा बताएका छन्।
तर सम्बन्धपछि इनिशाको यौनाङ्गबाट अत्यधिक रगत बग्न थालेको र केही समयपछि उनी बोल्न छोडेको उनले बताएका छन् । त्यसपछि आफू आत्तिएको र इनिशालाई उठाउने, हातखुट्टा चलाउने तथा यताउता सार्ने प्रयास गरेको बताएका छन्।
बिहान ८:२५ बजे उनले आफ्ना साथीहरूलाई फोन गरेर समस्या सुनाएको र सुरुमा आउन नमाने पनि पटक–पटक फोन गरेपछि तीन जना साथी घटनास्थलमा पुगेको उनले बताएका छन्।
इनिशा बोल्न नसक्ने अवस्थामा भएपछि साथीहरू नजिकैको गाउँमा स्थानीयलाई खबर गर्न गएको र त्यसपछि करिब ९:४५ बजे प्रहरीलाई खबर गरिएको बयानमा उल्लेख छ। प्रहरी पुगेर अस्पताल पुर्याउँदा बिहान १० बजिसकेको थियो।
यसैबीच, सीसीटीभी फुटेजमा इनिशा र ती किशोर वीरेन्द्रनगरको जनजागरण सामुदायिक वनतर्फ हात समाएर हिँडिरहेको देखिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाका अनुसार घटनामा संलग्न रहेको आरोपमा प्रेमी भनिएका किशोरसहित चार जनालाई पक्राउ गरी जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार घटनास्थलमा पुग्दा इनिशाको शरीरमा कपडा थिएन र शरीर रगतले भिजेको थियो। उनी अचेत अवस्थामा थिइन् र समयमै अस्पताल पुर्याउन नसक्दा ज्यान गएको प्रारम्भिक अनुसन्धानले देखाएको बताइएको छ ।
पैसा पावरको भर कसैलाई न्याय पाउनबाट गुमनाम नगरियोस् । छिट्टै न्याय मिलोस् ।


0 comment