काठमाडाैं - अमेरिका र इजरायलले इरान विरुद्ध सैन्य आक्रमण सुरु गरेको छ। उक्त आक्रमणलाई सतर्कताका लागि गरिएको 'आक्रमण' भनिएको छ। यस घटनापछि मध्यपूर्वमा युद्धको खतरा निकै बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रमका साथै हजारौं प्रदर्शनकारीहरूको मृत्यु भएको घरेलु कारबाहीको लागि हप्तौंसम्म इरानमाथि आक्रमण गर्ने धम्की दिएपछि याे आक्रमण भएकाे हाे।

आक्रमण लगत्तै इजरायली रक्षा मन्त्री इजरायल काट्जले एक विशेष विज्ञप्ति जारी गर्दै देशभर 'विशेष र स्थायी' आपतकालको घोषणा गरेका छन्। सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नागरिकहरूलाई उच्च सतर्कता अपनाउन भनिएको छ।

इजरायली रक्षामन्त्री काट्ज र दुई अमेरिकी अधिकारीहरूका अनुसार इजरायल र संयुक्त राज्य अमेरिकाले शनिबार बिहान इरान विरुद्ध आक्रमण सुरु गरेका हुन्। सिएनएन समाचार एजेन्सीका अनुसार यो आक्रमण इरानबाट हुन सक्ने सम्भावित खतरालाई रोक्न गरिएको दाबी गरिएको छ। 

इजरायली सेनाले देशका विभिन्न भागमा हवाई आक्रमणको सायरन बजाएको छ। इरानले जवाफी रूपमा रकेट प्रहार गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सर्वसाधारणलाई तयार रहन सूचित गरिएको छ। समाचार एजेन्सीले राजधानी तेहरानको मध्य भाग (डाउनटाउन) मा ठूला विस्फोटका आवाजहरू सुनिएको जनाएको छ। एजेन्सीले तेहरानमा भएका तीनवटा विस्फोटका तस्बिरहरू समेत सार्वजनिक गरेको छ।

इजरायली सेनाका अनुसार इरानले इजरायलमाथि ठुलो आक्रमणको तयारी गरिरहेको सूचना प्राप्त भएपछि 'आत्मरक्षा' का लागि यो कदम चालिएको बताएकाे छ। यद्यपि इरानले कुनै पनि आक्रमणको कडा जवाफ दिने चेतावनी दिइसकेको छ। इजरायलको यो कदमले क्षेत्रीय शान्तिको प्रयासमा ठूलो धक्का पुग्ने देखिएको छ।

यो आक्रमण अमेरिका र इरानबीच आणविक कार्यक्रमलाई लिएर कूटनीतिक वार्ता भइरहेको अवस्थामा भएको हो। यद्यपि, आगामी हप्ता पनि वार्ता जारी रहने अपेक्षा गरिएको थियो। इरानले वार्तामा केही लचकता देखाएको थियो, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिले इरानलाई सम्झौता मान्न दबाब दिन आक्रमण गर्ने धम्की दिएका थिए। उनले हिजो मात्र छलफलको प्रक्रियाप्रति आफू 'उत्साहित' नभएको बताएका थिए।

सुरुवाती आक्रमणमा अमेरिकी सेनाको संलग्नता थियो वा थिएन र निशानाहरू के-के थिए भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन। ट्रम्पले सन् २००३ को इराक आक्रमणपछि मध्यपूर्वमा सबैभन्दा ठूलो अमेरिकी सैन्य तैनाथीको आदेश दिएका छन्, तर अहिले नै सैन्य कारबाही किन आवश्यक छ भन्नेबारे स्पष्टीकरण दिएका छैनन्। 

गत जुनमा पनि इजरायलले इरानमाथि आक्रमण गरेको थियो, जसले १२ दिने युद्धको रूप लिएको थियो। पछि अमेरिका पनि इजरायलको पक्षमा युद्धमा सामेल हुँदै इरानका आणविक केन्द्रहरूलाई निशाना बनाएको थियो। यसै बीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको ब्यालिस्टिक मिसाइलबाट आफ्नो देशलाई खतरा रहेको चेतावनी दिएका थिए। उनले इरानको आणविक कार्यक्रममा मात्र केन्द्रित हुने कुनै पनि सम्झौताप्रति आफ्नो असहमति प्रकट गरेका थिए।

इरानले आफ्नो ब्यालिस्टिक मिसाइल कार्यक्रममा प्रतिबन्ध लगाउने र क्षेत्रका हमास (गाजा), हेजबुल्लाह (लेबनान), इराकका मिलिसिया र यमनका हुथी विद्रोहीहरूलाई दिँदै आएको समर्थन बन्द गर्ने कुरालाई अस्वीकार गर्दै आएको छ। इरानले यी मागहरू आफ्नो  सार्वभौमिकताको उल्लंघन हुन्।