काठमाडौं - यौन प्रकरणमा मुछिएका बेलायती राजाका भाइ एन्ड्रयु माउन्टबेटन पक्राउ परेका छन्। उनी बेलायतका राजा चाल्र्स तृतीय का भाइ तथा पूर्व राजकुमार हुन्। थेम्स भ्याली प्रहरीले सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा उनलाई हिरासतमा लिएको जनाएको छ।

प्रहरीका अनुसार, दोषी ठहरिएका यौन अपराधी जेफरी एपस्टीन सँग गोप्य जानकारी आदान–प्रदान गरिएको आरोपबारे अनुसन्धान भइरहेका बेला उनलाई पक्राउ गरिएको हो। एन्ड्रयुले भने आफूले कुनै पनि गलत कार्य नगरेको दाबी गर्दै आएका छन्।

गत वर्ष उनको राजकुमार उपाधि समाप्त गरिएको थियो। उपाधि खारेज भएसँगै उहाँले रोयल लज छोड्नुपरेको थियो। त्यसपछि उहाँ नोरफोकस्थित स्यान्डरिङहम हाउसमा बस्दै आएको बताइएको छ।

उनलाई कहाँबाट पक्राउ गरिएको हो भन्ने विवरण सार्वजनिक गरिएको छैन। यद्यपि, पक्राउ गरिएको दिन बिहान स्यान्ड्रिङ्घम क्षेत्रमा प्रहरी संकेत नभएका सवारी साधनहरू देखिएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

बीबीसी का अनुसार, सार्वजनिक कार्यालयमा दुव्र्यवहारसम्बन्धी उजुरीमाथि अनुसन्धान जारी छ। प्रहरीले जारी गरेको विज्ञप्तिमा ६० वर्षभन्दा माथिका एक व्यक्तिलाई नोरफोकबाट पक्राउ गरिएको र बर्कशायर तथा नोरफोकस्थित ठेगानाहरूमा खोजी भइरहेको जनाएको छ।

प्रहरीले राष्ट्रिय निर्देशिकाअनुसार पक्राउ परेकाको नाम सार्वजनिक नगरिने र मुद्दा सक्रिय रहेकाले अदालतको अवहेलनाबाट जोगिन सावधानी अपनाउन आग्रह गरेको छ।