काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट आयात हुने वस्तुमा लगाइने भन्सार शुल्क २५ प्रतिशतसम्म बढाउने घोषणा गरेका छन्।

गत वर्ष भएको व्यापार सम्झौताको पालना गर्न सियोल असफल भएको आरोप लगाउँदै उनले यस्तो निर्णय लिएका हुन्।

सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले दक्षिण कोरियामाथि लगाइने कर १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्‍याइने बताए। यो शुल्क सवारीसाधन, काठजन्य सामग्री, औषधि तथा अन्य सबै पारस्परिक कर लागू हुने वस्तुहरुमा लागु हुने उनले उल्लेख गरे।

ट्रम्पका अनुसार दक्षिण कोरियाली सांसदहरूले सम्झौता अनुमोदन गर्न ढिलाइ गरिरहेका छन्, जबकि अमेरिका भने सम्झौताअनुसार कर घटाउने काम छिटो गरिसकेको छ।तर दक्षिण कोरियाले केही वस्तुमा कर बढाउने निर्णयबारे आफूले औपचारिक जानकारी नपाएको जनाएको छ र यस विषयमा वाशिङ्टनसँग तत्काल वार्ता चाहिएको बताएको छ।

दक्षिण कोरियाले थपे अनुसार हाल क्यानडामा रहेका उद्योग मन्त्री किम जुङ–क्वान सकेसम्म चाँडो वाशिङ्टन जाने र अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकसँग भेट गर्नेछन्।

मंगलबार बिहान केही दक्षिण कोरियाली निर्यातक कम्पनीका सेयर घटेका छन्। कार निर्माता हुन्डाईको सेयर झन्डै २.५ प्रतिशतले घटेको छ। औषधि र काठ उद्योगसँग सम्बन्धित सेयरहरू पनि ओरालो लागेका छन्।

सियोल र वाशिङ्टनबीच गत अक्टोबरमा व्यापार सम्झौता भएको थियो जसअनुसार दक्षिण कोरियाले अमेरिकामा ३५० अर्ब अमेरिकी डलर (करिब २५६ अर्ब पाउन्ड) लगानी गर्ने प्रतिबद्धता जनाएको थियो। सो लगानीको केही हिस्सा जहाज निर्माण क्षेत्रमा खर्च हुने थियो।

त्यसको अर्को महिना दक्षिण कोरियाले सम्झौता अनुमोदन प्रक्रिया सुरु गरेपछि अमेरिकाले केही वस्तुमा कर घटाउने सहमति भएको थियो।

उक्त सम्झौता नोभेम्बर २६ मा दक्षिण कोरियाको राष्ट्रिय सभामा पेश गरिएको थियो र हाल समीक्षा प्रक्रियामा छ। स्थानीय सञ्चारमाध्यमका अनुसार यो सम्झौता फेब्रुअरीमा पारित हुने सम्भावना छ।

ट्यारिफ भनेको आयात गर्ने कम्पनीले तिर्ने कर हो। यस अवस्थामा दक्षिण कोरियाबाट वस्तु खरिद गर्ने अमेरिकी कम्पनीहरूले २५ प्रतिशत कर तिर्नुपर्ने हुन्छ।ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा विदेश नीति कार्यान्वयन गर्न करलाई दबाबको माध्यमका रूपमा बारम्बार प्रयोग गर्दै आएका छन्।

शनिबार उनले क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा १०० प्रतिशत कर लगाइने चेतावनी दिएका थिए।

सोमबार चिनियाँ अधिकारीहरूले क्यानडासँगको रणनीतिक साझेदारी सम्झौता अन्य देशहरूलाई कमजोर पार्ने उद्देश्यले नभएको बताएका छन्।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले आफ्नो देश चीनसँग स्वतन्त्र व्यापार सम्झौताको खोजीमा नरहेको र त्यसबारे कहिल्यै विचारसमेत नगरेको स्पष्ट पारेका छन्। उनले क्यानडाली अधिकारीहरूले आफ्नो धारणा अमेरिकी समकक्षीलाई स्पष्ट रूपमा जानकारी गराइसकेको पनि बताए।

यसअघि ट्रम्पले डेनमार्क अधीनस्थ स्वायत्त क्षेत्र ग्रिनल्याण्ड कब्जा गर्ने अमेरिकी योजनाको विरोध गर्ने बेलायतसहित आठ देशमाथि आयात कर लगाउने चेतावनी दिएका थिए।

पछि उनले ग्रिनल्याण्डसम्बन्धी भविष्यको सम्झौता तर्फ प्रगति भएको भन्दै कर धम्की फिर्ता लिए पनि यस घटनाले डेनमार्क र अन्य नेटो सहयोगीहरूसँग अमेरिकाको सम्बन्धमा तनाव सिर्जना गरेको थियो।