१.पुर्ख्यौली
लगभग १६औँ शताब्दीतिर मध्यप्रदेशको उज्जैन नगरनजिकैको मालवा गाउँमा बसोवास गर्दैै आएका मालवीय थरका ब्राह्मण परिवार जीविकोपार्जनका लागि उत्तरप्रदेशतिरका बस्तीहरूमा बसाइँ सरेर आएका थिए । त्यसरी बसाइँ सर्नेहरूमध्ये कोही मिर्जापुर, वनारस र गोरखपुरसम्म नै छरिएका थिए । त्यसैमध्येको एक ब्राह्मण परिवार कर्मकाण्डद्वारा जीविका चलाउँदै इलाहावादनगरमा आएर बस्न थालेको थियो । त्यसरी कर्मकाण्ड गर्दै आएका विभिन्न परिवारका व्यक्तिहरूमध्ये पण्डित प्रेमधर मालवीय पनि एक थिए । सान्दिपनी मुनिका वंशज यिनीहरू स्थानवाचक मल्लई अथवा चौवे थरले चिनिन्छन् । मल्लई शब्दलाई संस्कृतनिष्ठ बनाएर मालवीय उपनाम बनाउने कार्य मदनमोहनले गरेका हुन् । प्रेमधर मालवीय इलाहावादको भारतीभवन क्षेत्रमा एउटा राम्रो घर बनाएर बसेका थिए । पुरोहित्याइँ नै उनीहरूको जीविकोपार्जनको प्रमुख माध्यम भएकाले उनका सबै पुत्रहरूले जजमानी सिक्दथे । पण्डित प्रेमधरका पनि चार पुत्रहरू थिए । जेठा पुत्र गजाधर, माहिला बालाधर, साहिँला बच्यूलाल र कान्छा व्रजनाथ मालवीयले पनि संस्कृत–अध्ययन गरेका थिए । यीमध्ये तीन भाइले पितापुर्खाको कामलाई निरन्तरता दिँदै कर्मकाण्ड गरेर नगद तथा जिन्सी जोड्थे भने कान्छा पुत्र व्रजनाथ मालवीय श्रीमद्भागवत्का कथावाचक थिए । उनी कर्मकाण्ड गरेर धनआर्जन गर्ने कुराका सख्त विरोधी थिए । उनी यस्तो कर्मबाट कमाएको धनलाई अनुचित सम्झन्थे । सानै उमेरदेखि पढ्ने–पढाउने कार्यप्रति उनको अभिरुचि थियो । श्रीमद्भागवत्पारायण एवम् प्रवचनमा उनको दैनिकी बित्थ्यो । उनी भगवान् राम र कृष्णका परम् भक्त थिए ।
उनीभित्रको भागवत्प्रेमका बारेमा पिता पं. प्रेमधरले खासै रुचि लिँदैनथे । पं. व्रजनाथ मालवीयले दाइहरूको जजमानी कार्यमा सघाउ नपुर्याए पनि उनले पारिवारिक छुट पाएका थिए । तर उत्तरप्रदेशको सहजाद्पुरकी कन्या मोनादेवीसँग वैवाहिक सम्बन्ध कायम भएर चार पुत्र र चार पुत्रीको जायजन्म भइसकेपछि उनको पारिवारिक दायित्व थपियो । घरपरिवार चलाउनका लागि पिताले उनलाई कर्मकाण्ड गर्न दबाब दिए । जतिसुकै सम्झाए पनि पं. व्रजनाथले उक्त कर्म नगर्ने अडान लिएपछि पिता प्रेमधरले उनका लागि ‘कि दाइहरूले जस्तै जजमानी कर्म गरी धनार्जन गर्नुपर्ने कि आफूलाई सहयोग गर्नुपर्ने यी दुवै कर्म नगरे घर छोडेर जानुपर्ने’ विकल्प खुला गरिदिए । आफ्नो कुरामा अडिग रहने स्वभावका पं. व्रजनाथ मालवीय एकदिन बिहान स्नानादि कर्म गरेर अग्रजहरूलाई ढोगभेट गरी आफ्ना पुत्रहरू लक्ष्मीनारायण, जयकृष्ण, श्यामसुन्दर र पं. मदनमोहन मालवीय तथा पुत्रीहरू सुखनदेवी, विष्णुदेवीसहित धर्मपत्नी श्रीमती मोनादेवीलाई लिएर घरबाट निस्किए । उनको परिवारमा घटेको घटना तत्काल मोहल्लाभरि फैलियो । कहाँ जान्छौ भनेर सोद्धा उनी– ‘हरि इच्छा भगवान् जाहा लेजाएंगें जैसा कराएंगे वही ठिक रहेगा’ भन्दथे । यसरी पं. व्रजनाथ मालवीयको आफ्नो परिवारसहित पैतृक घर भारतीभवनबाट बहिर्गमन भयो ।
प्रयाग नगरको एक सम्भ्रान्त एवम् सज्जन परिवारका व्यक्तिले यस कुराको सूचना पाएछन् । उनले तुरुन्त आफ्ना मान्छे खटाएर पं. व्रजनाथलाई आफूसँग भेट्न अह्राए । तर पं. व्रजनाथले ‘म अहिले अलि विषम परिस्थितिमा छु, पछि भेट्न आउँछु ।’ भनेर खबर पठाए । फेरि सेठजीले जसरी भए पनि पहिले आफूलाई भेटेर मात्र कतै जानु भन्ने निर्देशन पठाएपछि सडकको कुनै कुनामा आफ्ना बालबच्चाहरूलाई छाडेर उनी सेठलाई भेट्न गए । त्यतिवेला सेठजी दाँत माझिरहेका थिए । उनले ‘म स्नान गरेर आउँछु, तिमी बस्दै गर्नु, मलाई तिमीसँग श्रीमद्भागवत् कथाश्रवण गर्ने इच्छा छ, बरु त्यतिन्जेल नास्ता गर्दै गर्नु’ भनेर उनलाई बस्न अनुरोध गरे । केही क्षणपछि सेठ आएर सङ्कल्प गर्न लगाई सवा रुपियाँ दक्षिणादान गरे । पं. व्रजनाथले तुरुन्तै यो कुरा इन्कार गरे र भने– ‘यसरी दान लिनु थियो भने म आफ्ना ईश्वरतुल्य पिताको आज्ञा मानेर जजमानी गरी घरैमा रहने थिएँ । यही कुरामा सहमत नहुँदा म घर छाडेर हिँडेको हुँ । तर सेठले चालीस दिनसम्म प्रत्येक दिन सवा रुपियाँका दरले दक्षिणा प्राप्त भएपछि त्यसैबाट सङ्कलित रकमबाट परिवारको पेट पाल्न सजिलो हुन्छ भनेर आफूले सङ्कल्प गरेको कुरा मालवीयलाई बताए । सेठको सत्कार्यप्रति धन्यवाद दिँदै पं. व्रजनाथले विनादक्षिणा चालीस दिनसम्म श्रीमद्भागवत् कथाश्रवण गराउने आश्वासन दिँदै उक्त दक्षिणा अरू कसैलाई दिन अनुरोध गरे । तर ‘बेवारिसे अवस्थामा सडकमा छोडिएका आफ्ना बालबच्चालाई उनको घरमा ल्याएर राख्ने र भागवत् कथा सुनाउने सेठको एउटा आग्रह भने उनलाई स्वीकार्य भयो ।
पं. व्रजनाथ मालवीयले यसरी आफ्नो परिवारको भरणपोषणको जिम्मेवारी सम्हाले । कान्छा पुत्र व्रजनाथ पं. मदनमोहन मालवीयसहितको आठ पुत्रपुत्री एवम् श्रीमतीसहितको परिवार पुनः कहिल्यै आफ्नो पुख्र्यौली घर फर्केनन् । श्रीमद्भागवत्को नित्य कथापारायण र प्रवचनबाट आएको फलफूल र पुस्तकमा चढाइएको भेटीबाट परिवारको भरणपोषण गरेर पं. व्रजनाथ मालवीयले आफ्नो जीवन गुजारा गर्न थाले ।
यस घटनाको स्मरण गर्दै पं. मदनमोहन मालवीयले पछिसम्म प्रसङ्ग कोट्याइरहन्थे । अर्काले दानस्वरूप दिएका वस्तु कहिल्यै पनि नलिनु भनेर पिताले उनको परिवारजनलाई निर्देशन गरेका थिए रे । तर पछि महामना मदनमोहन मालवीयले काशी हिन्दू विश्वविद्यालय स्थापनार्थ ठाउँठाउँमा गएर दानसङ्कलन गर्न थाले । उनको यस कदमप्रति विरोध गर्दै मानिसहरूले भन्न थाले ‘अरूले दिएको दान कहिल्यै नलिनु भनेर पिताले आदेश दिएका छन् भनेर मालवीय आफैँ सुनाउँथे तर अहिले किन उनी दान माग्दै हिँडेका होलान् ।’ त्यसको प्रत्युत्तरमा मालवीयले कविता लेखेर पटकपटक मानिसहरूलाई सुनाउने गर्दथे ।
मर जाऊं मांगूं नहीं मै निज हित के काज,
परमारथ के काज में मोहि न आवत लाज ।
सामाजिक र पुण्यकर्मका लागि बाहेक उनले जीवनभर कहिल्यै पनि आफ्नो निजी कामका लागि कसैसँग दान मागेनन् । सामाजिक कार्य सम्पन्न गर्न भने उनले खुलेरै दान मागे । यस क्रममा कतिपय ठाउँमा उनले अपमान पनि सहनुपर्यो । तर विश्वविद्यालय निर्माण गर्नेजस्तो वृहत् कार्य पनि उनले दानबाटै सङ्कलित रकमबाट सम्पन्न गरे । त्यसैले महात्मा गान्धीले समेत उनको यो कार्यको प्रशंसा गर्दै ‘संसार मे मालवीय जी से बढकर कोई भिक्षुक नही’ भन्ने उपाधि दिएका थिए रे ।
२. मदनमोहन मालवीयको जन्म, बाल्यकाल र विवाह
पं. मदनमोहन मालवीयको जन्म इलाहावादस्थिल पुख्र्यौली घर भारतीभवनमा सन् १८६१ को डिसेम्बर २५ ( वि.सं. १९१८ पौष कृष्ण अष्टमी तिथि, बुधवार) का दिन साँझ ६ः५४ मा भएको थियो । पिता पं. व्रजनाथ मालवीय र माता श्रीमती मोनादेवीका कान्छा छोराका रूपमा उनी यस धर्तीमा पदार्पण भएका थिए । जन्मिएको केही समयपछि नै पितासँगै उनले पुख्र्यौली थलो छाड्नुपरेको थियो । सामान्य मध्यमवर्गीय ब्राह्मण परिवारमा जन्मिएका मदनमोहन मालवीयले पाँच वर्षको उमेरदेखि घरैमा संस्कृत शिक्षाको प्रारम्भिक अध्ययन गरेका थिए । पिता व्रजनाथ मालवीयले पुत्र मदनमोहनलाई तत्कालीन प्रचलनअनुसार संस्कृत शिक्षाका लागि प्रयागस्थित हरदेव गुरुको ‘धर्मज्ञानोपदेश पाठशाला’ मा भर्ना गरिदिएका थिए । बाल्यकालदेखि नै कुशाग्र बुद्धिका मदनमोहन मालवीय पढाइका साथै अन्य कुरामा समेत रुचि राख्थे । ८ वर्षको उमेरमा उनको व्रतबन्ध संस्कार सम्पन्न भएको थियो र पिताले गायत्री मन्त्र सुनाएका थिए । मदनमोहन मालवीयको विवाह मिरजापुर निवासी पं. नन्दरामकी पुत्री कुन्दनदेवीसँग भएको थियो । त्यसवेला उनी १६ वर्षका मात्र थिए । मदनमोहन मालवीय र कुन्दनदेवीको दाम्पत्य जीवन सुमधुर रहेको थियो । उनीहरूको सम्बन्धबाट चार पुत्र र चार पुत्रीको जायजन्म भएको थियो । जेठा पुत्र रमाकान्त, जेठी पुत्री रुक्मिणीदेवी, माहिला पुत्र राधाकान्त, माहिली पुत्री रमाबीबी, साहिँला पुत्र गौरीकान्त, साहिँली पुत्री मल्टीबीबी तथा कान्छा पुत्र गोविन्द र कान्छी पुत्री मनोरमा थिए । मदनमोहन मालवीयले आफ्ना सबै सन्तानलाई राम्रो सँग शिक्षादीक्षा दिएर हुर्काएका थिए । त्यसैले उनका छोरानाति सबै प्रसिद्ध छन् ।
विद्याधर्म प्रवद्र्धिनी पाठशालाबाट संस्कृतको अध्ययन सँगसँगै सन् १८६८ मा सरकारी हाइस्कुल खुलेपछि मदनमोहन मालवीयले एकजना पादरीको सल्लाहअनुसार अङ्ग्रेजी भाषामा पनि शिक्षा लिए । उनी संस्कृत भाषाका राम्रा ज्ञाता त थिए नै, अङ्ग्रेजी भाषामा समेत शिक्षा ग्रहण गरी उनी त्यस भाषाका प्रखर वक्तासमेत बनेका थिए । मदनमोहन मालवीयले १६ वर्षको उमेरमा ईन्ट्रान्स पास गरेका थिए । उनले इलाहावादस्थित ‘म्योर सेन्ट्रल कलेज’ बाट सन् १८८४ मा विए को उपाधि हासिल गरे । त्यस बेलासम्म इलाहावादमा विश्वविद्यालय थिएनन् । त्यसैले उनले कलकत्ता विश्वविद्यालयबाट बीएको जाँच दिएर उक्त डिग्री हासिल गरेका थिए ।
उनी अखडामा गएर दैनिक व्यायाम पनि गर्दथे । उनले जीवनभर व्यायाम तथा योगासन गर्न छाडेनन् । उनको रुचि सङ्गीतमा थियो । सितारवादनमा पनि उनको राम्रो दखल थियो । त्यसैले उनी शास्त्रीय सङ्गीतको शिक्षा दिन चुक्दैनथे । यी सबै शिक्षा उनले पाठशालाका गुरु पं. हरदेवजी र पिता व्रजनाथवाट सिकेका थिए । पिता व्रजनाथ पनि शास्त्रीय सङ्गीतमा निपुण थिए । उनको प्रभाव महामना मदनमोहन मालवीयमा पनि परेको थियो ।
उनको प्रखर वक्तृता देखेर कालाकाङ्करका राजा रामपाल सिंहले उनलाई ‘हिन्दुस्तान’ पत्रिकाको सम्पादकका रूपमा नियुक्त गरे । सम्पादनकार्यमा उनले त्यहाँ दुई वर्ष बिताए । तर राजा रामपाल सिंहले पूर्वसर्त पूरा नगरेका कारण मदनमोहन मालवीयले उक्त पत्रिकाको सम्पादकबाट राजीनामा दिए । राजा रामपाल सिंहले आफ्नो गल्ती स्वीकार गर्दै फेरि गल्ती नदोहोर्याउने वचनबद्धता व्यक्त गर्दा पनि मालवीयले मानेनन् । उनको लेखन र वक्तृत्वबाट प्रभावित भएका राजा रामपालले कानुन विषय अध्ययन गर्ने सर्तमा उनको राजीनामा स्वीकृत गरे । त्यसपछि महामना मदनमोहन मालवीयले कानुन विषयको समेत अध्ययन पूरा गरे । तत्पश्चात उनी इलाहावाद हाइकोर्टको चर्चित वकिल बने । कलेजस्तरको पढाइकै क्रममा उनले आफ्नो प्रतिभाको परिचय दिइसकेका थिए ।
३. महामनाको राजनीतिक यात्रा
विभिन्न आक्रमणबाट भारतको राजनीति सुरुदेखि नै अस्थिर थियो । भारतका झन्डै ८०० भन्दा बढी राज्यहरू पहिलो पटक ब्रिटिसहरूको अधीनमा रहेका थिए । प्रत्येक राज्यबाट कर उठाएर अङ्ग्रेज सरकारले बेलायत पुर्याउँथ्यो । भारतका सबै राज्यहरू खोक्रो भएका थिए । शोषण, अन्याय र अशिक्षाले ग्रस्त भएका जनताहरू पीडित थिए । धार्मिक आक्रमणले पनि भारत क्षतविक्षत भएको थियो । त्यसैले भारतका पढेलेखेका साधु, सन्त, र सामाजिक कार्यकर्ताले सामाजिक आन्दोलन, धार्मिक जागरण, र स्वराजप्राप्तिका निम्ति आन्दोलन सुरु गरिसकेका थिए । मदनमोहन मालवीय एक शिक्षित परिवारमा जन्मिएका संस्कारित व्यक्ति थिए । उनीभित्र धार्मिक आस्था प्रबल रूपमा रहेको थियो । छात्र जीवनदेखि नै उनी सामाजिक, धार्मिक र सांस्कृतिक कुरामा रुचि राख्दथे । जनताको चेतनाको स्तर उठाउनु, धार्मिक प्रवचन गर्नु, पुस्तकालय खोल्नु, व्यङ्ग्य नाटक प्रदर्शन गर्नु, स्वयम्सेवक भई चाडपर्वमा जनताको सेवा गर्नु मदनमाहेन मालवीयको दिनचर्या बन्दै गएको थियो ।
उनी ठूला राष्ट्रवादी व्यक्ति थिए । भारतीय राजनीतिमा उनी राष्ट्रवादी युगचेतना भएका राजनीतिज्ञका रूपमा स्थापित थिए । उनी राष्ट्रको सर्वाङ्गीण अभ्युदयका लागि समर्पित राजनेता थिए । प्रत्यक्ष रूपमा भारतीय राजनीतिमा उनको प्रवेश सन् १८८६ देखि भएको हो । सन् १८८५ मा बम्बईमा भारतीय राष्ट्रिय काङ्ग्रेस स्थापना भइसकेको थियो । यसको दोस्रो अधिवेशन कलकत्तामा हुँदै थियो । तिनताका उनी सरकारी स्कुलमा पढाउने गर्दथे । त्यस अधिवेशनमा हरेक प्रान्तबाट प्रतिनिधिहरू भाग लिन जानुपथ्र्याे । ‘म्योर सेन्ट्रल कलेज’ का प्रख्यात प्राध्यापक आदित्यराम भट्टाचार्य सुरुदेखि नै भारतीय राष्ट्रिय काङ्ग्रेसमा सहभागी थिए । उनी कलकत्ता अधिवेशनमा भाग लिन जाँदै थिए । बाल्यकालदेखि नै प्र्रखर वक्ताका रूपमा चिनिइसकेका मदनमोहन मालवीयको समाजिक जागरणप्रतिको लगावका कारण भट्टाचार्यले उक्त अधिवेशनमा भाग लिन मदनमोहनलाई प्रोत्साहित गरे । उक्त प्रस्तावलाई सहर्ष स्वीकार गरी मदनमोहन मालवीय उनीसँगै कलकत्ता अधिवेशनमा सहभागी भएका थिए ।
सम्मेलनमा सहभागीहरूको भाषण सुनेपछि मदनमोहनलाई पनि त्यस सम्मेलनमा सम्बोधन गर्ने इच्छा जाग्योे । पं. भट्टचार्यको सहयोगले ४४० जना सहभागी भएको त्यस सभामा उनले ‘प्रतिनिधि संस्था औं की स्थापना’ विषयमा आफ्ना कुरा राख्ने अवसर प्राप्त गरे । २५ वर्षीय युवक मदनमोहन मालवीयले प्रभावशाली ढङ्गबाट आफ्नो वक्तव्य राखेको सुनेर सभा नै मन्त्रमुग्ध भयो । त्यहाँ तालीले उनको भव्य स्वागत गरियो । यस घटनापश्चात् उनी भारतीय राजनीतिमा प्रवेश गरे । उनले त्यसबेला बोलेको यो वाक्यले सबैलाई प्रभावित गरेको थियो– ‘प्रतिनिधित्व नही, तो कर्म नही, यह अङ्ग्रेजो के राजनीतिक बाइबिलका प्रथम धर्मोपदेश है ।’ यस सम्मेलनको अध्यक्षता गरिरहेका दादाभाई नौरोजीले आफ्नो स्थानबाट उठेर भने– ‘भारत मां की आवाज उस युवक की आवाज मे स्वयं प्रतिध्वनित हो गई है ।’
यसरी २५ वर्षको आयुमा भारतीय राजनीतिमा प्रवेश गरेका मदनमोहन मालवीय वृद्धावस्थासम्म नै भारतीय राजनीतिको एक महŒवपूर्ण स्तम्भको रूपमा रहिरहे । भारतीय स्वतन्त्रता प्राप्तिको आन्दोलनका क्रममा चार पटकसम्म भारतीय राष्ट्रिय काङ्ग्रेसका अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्ने सफल राजनेताका रूपमा उनको नाम लिने गरिन्छ ।
‘हिस्ट्री अफ काङ्ग्रेस’ का लेखक पट्टमी सीतामैयाले लेखेका छन् – ‘In all moments of doubt and difficulties. It was to him that congress workers turned and were never disappointed.”
‘सन्देह र कठिनाइका हरेक क्षणमा काङ्ग्रेस कार्यकर्ता उनीतर्फ उमेद राखेर हेर्दथे र निराश हुँदैनथे’ भन्ने भनाइ रहेको छ । वास्तवमा मदनमोहन मालवीयको राष्ट्रचिन्तन, इमानदारी, निडरता, योग्यता र उत्साहबाट काङ्ग्रेस कार्यकर्तामात्र होइन, पूरै भारतका जनता उनको नेतृत्व क्षमताप्रति विश्वस्त थियो । १९८७ को डिसेम्बरमा मद्रासमा भएको तेस्रो अधिवेशनमा उनी उत्तरप्रदेशबाट ४५ प्रतिनिधिका साथ सहभागी भएका थिए । उनको यस्तो उत्साह देखेर ए.ओ. हूूमन साहवले उनलाई काङ्ग्रेस कमिटीको स्थायी सदस्य बनाए । साथै उनी उत्तरप्रदेशको नेतासमेत घोषित भए । झन्डै २० वर्षसम्म उक्त प्रान्तमा उनको परिषद् नेतृत्वले कार्य गर्ने अवसर पायो ।
भारतीय काङ्ग्रेस पार्टीमा सुरुका दिनदेखि सन् १९३७÷३८ सम्म प्रायः सबै वार्षिक एवम् विशेष अधिवेशनमा उनले सक्रिय रूपमा भाग लिएका थिए । त्यहाँ उनले आफ्नो परिपक्व नेतृत्व प्रदर्शन गरेका थिए । भारतको स्वराज प्राप्तिको सङ्घर्षका क्रममा हिंसात्मक वा अहिंसात्मक बाटो अपनाउने भन्ने विषयमा पार्टीभित्र सन् १९०७ को सुरत अधिवेशनदेखि गरम दल र नरम दलका रूपमा विभाजित हुँदा सन् १९१६ मा उनले मध्यस्थ र सहजकर्ताको भूमिका निर्वाह गरी दुवै पक्षलाई मिलाएका थिए । आफू स्वयम् नरम दलको भावनाप्रति निकट भए पनि दुवै दललाई साथै लैजान उनको अहम् भूमिका र नेतृत्व रह्यो । काङ्ग्रेस पार्टीका संस्थापनाकालका बालगङ्गाधर तिलक, गोपालचन्द्र गोखले, ए.ओ.हूमन, बाबु सुरेन्द्रनाथ बनर्जी आदि नेताको नेतृत्वपछि महात्मा गान्धीको भारतीय राजनीतिमा पदार्पण भयो । त्यसअघि महामना मदनमोहन मालवीयको सक्रिय नेतृत्वमा भारतीय स्वराजप्राप्तिको आन्दोलन अगाडि बढेको थियो ।
सन् १९०९ को लाहोर अधिवेशनबाट उनले भारतीय राष्ट्रिय काङ्ग्रेस पार्टीको अध्यक्षताको जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए । त्यस्तै सन् १९१८ को दिल्ली अधिवेशन, पुनः सन् १९३० को दिल्ली अधिवेशन र चौथो पटक १९३२ को कलकत्ता अधिवेशनबाट उनी भारतीय राष्ट्रिय काङ्ग्रेसको सर्वोच्च नेतृत्वमा पुगेका थिए । अर्थात् उनले उक्त पार्टीको अध्यक्षको जिम्मेवारी सम्हाल्नुपरेको थियो । सन् १९३० देखि १९३२ सम्म सरकारद्वारा लगाइएको प्रतिबन्धका कारण अधिवेशन हुन सकेन । उनले काङ्ग्रेसको नेतृत्वका साथसाथै सन् १९०३ देखि १९१२ सम्म प्रान्तीय काउन्सिल सदस्यको जिम्मेवारी पनि सम्हालेका थिए । त्यस्तै भारतीय विधान काउन्सिलमा सन् १९१० देखि १९२० सालसम्म र भारतीय लेजिस्लेटिभ एसेम्ब्लीको सन् १९२४ देखि १९३० सम्म उनले निर्वाचित सदस्यका हैसियतबाट देशका लागि अनेक महŒवपूर्ण कार्यहरू गरेका थिए ।
अङ्ग्रेज सरकारका अनेकौँ दमन र शोषणका विरुद्ध उनले राजनीतिक र कानुनी लडाइँ सँगसँगै लडेका छन् । आमजनता, पत्रकार, राजनीतिक कार्यकर्ताका सङ्गीन मुद्दाहरूमा काउन्सिल र अदालतहरूमा आफ्नो तेजस्वी विचार एवम् दृष्टिकोण प्रस्तुत गरी उनी सधैँ चर्चित बने । सन् १९२८÷२९ तिर कम्युनिस्ट पार्टीको गतिविधिलाई नियन्त्रण एवम् रोक लगाउन अङ्ग्रेज सरकारले ‘पब्लिक सेफ्टी विल’ (सार्वजनिक सुरक्षा विधेयक) एसेम्ब्लीमा प्रस्तुत गरेको थियो । काङ्ग्रेस र नेस्नलिस्ट पार्टीका सदस्यहरूले त्यसको डटेर विरोध गरेका थिए । यस विललाई मदनमोहन मालवीयले आपत्तिजनक र अन्यायपूर्ण भएको बताएका थिए ।
मदनमोहन मालवीय कम्युनिस्टहरूका कतिपय आर्थिक एवम् सामाजिक धारणालाई उचित र न्यायसङ्गत मान्दथे । तर अर्कातर्फ कम्युनिज्म, सत्य, न्याय, धर्म, प्राकृतिक नियमका विरुद्ध हिंसा र शक्तिका माध्यमबाट कुनै व्यक्तिको सम्पत्ति अपहरणलाई भने उनी अनुचित सम्झन्थे । तर उनले त्यसवेला मजदुर तथा श्रमिकका जायज माग र त्यसकोे बहालीका लागि उनीहरूले गर्ने सङ्र्घषलाई जायज ठहराएका थिए ।
सन् १९१५ मा माहात्मा गान्धी भारतीय राजनीतिमा पदार्पण गरेका थिए । यसभन्दा अगाडि नै सन् १८९० तिर लन्डनबाट प्रकाशित मिस्टर डिग्वीको ‘इन्डिया’ पत्रिकामा प्रकाशित मदनमोहन मालवीयको एक तस्बिरबाट महात्मा गान्धीको परिचय भएको थियो । तर भारतीय राष्ट्रिय राजनीतिमा दुवैले साथसाथै काम गरेका थिए । दुवै राष्ट्रवादी, उच्च नैतिकबल र सादगीपूर्ण जीवन व्यतीत गर्ने राजनेताका रूपमा भारतीय जनताका बीच प्रख्यात थिए । तर कतिपय कुरामा उनीहरूको दृष्टिकोण फरक रहन्थ्यो । सन् १९२० को असहयोग आन्दोलनको दौरानमा महात्मा गान्धीले विश्वविद्यालयको पढाइ बहिष्कार गर्ने नीति लिए । तर त्यस नीतिप्रति मदनमोहन मालवीयको फरक मत आयो । उनले विश्वविद्यालयका छात्रहरूलाई सम्बोधन गरे । विश्वविद्यालयको पढाइ नछाड्ने तर स्वराज प्राप्तिमा आफूले सकेको सहयोग गर्ने नीति उनले अख्तियार गरे । यस कार्यप्रति महात्मा गान्धीको भनाइ यस्तो रहेको थियो– ‘मैने पं. मालवीयजीका व्याख्यान भी कल (१८ नबेम्बर १९२०) को) पढ लिया । जिसमें मेरे वडे भाई ने जो कहा, कि विद्यार्थीयों को सोचकर, जो उसकी आत्मा कहे, उसपर चलना चाहिए मै भी यही कहता हुँ । मै मालवीयजी से बडा देशभक्त किसी को नहीं मानता । मै सदैव उनकी पूजा करता हुँ । पंडितजी भारत मात्र के लिए जीते हंै, वे एक विश्वविद्यालय के लिए नहीं मर सकते’ ।
महात्मा गान्धी र मदनमोहन मालवीयबीच मतमतान्तर भए पनि भारतीय स्वतन्त्रता सङ्ग्रामको महायज्ञमा दुवैको एकमत थियो । दुवैले एकअर्कालाई बडो सम्मानसाथ व्यवहार गर्दथे । उमेरले महामना ८ वर्ष जेठा थिए तर महात्मा गान्धीप्रति उच्च सम्मानभाव राख्दथे । सन् १९२९ मा सविनय अवज्ञा आन्दोलन चलिरहेको थियो । यस आन्दोलनमा महामना मालवीय कटिबद्ध भएर लाग्ने सहमति जनाएकाले ३१ जुलाई र १ अगस्टको राती उनलाई गिरफ्तार गरी बम्बईस्थित नैती जेलमा राखिएको थियो । उनले स्थापना गरेको काशी हिन्दू विश्वविद्यालयलाई अनुदान दिन पनि मनाही गरियो । उनीसँग धेरै प्रश्नहरूको उत्तर मागियो । विश्वविद्यालयको नीति स्पष्ट गर्न भनियो । जेलमा रहेका मालवीयको सुझाव लिएर विश्वविद्यालयको कार्यसमितिले २५ नोभेम्बर १९३० मा भारत सरकारसँग पत्राचार गर्यो । यसैबीच अस्वस्थताका कारण मदनमोहन मालवीयलाई जेलबाट रिहा गरिदियो । तत्पश्चात उनकै प्रयासमा अनुदान सङ्कलनको काम पुनः चालू भएको थियो ।
सन् १९३१ मा बेलायतमा भएको गोलमेच सम्मेलनमा महात्मा गान्धीसँगै महामना मदनमोहन मालवीय पनि गएका थिए । उक्त सम्मेलनमा जोडदार रूपमा अङ्ग्रेजीमा भाषण दिएर उनले अङ्ग्रेजहरूलाई पनि मन्त्रमुुग्ध पारेका थिए । सविनय अवज्ञा आन्दोलन र असहयोग आन्दोलनपश्चात् ‘भारत छोडो आन्दोलन’ को भयङ्कर आँधीबेहेरी आयो ।
त्यसवेला महमनाले विश्वविद्यालयमा पर्ने असरको कुनै पर्वाह नगरी रुइया छात्रावासअगाडि आयोजित एक सभालाई सम्बोधन गर्दै भनेका थिए– ‘भारत की स्वतन्त्रता की लडाइ में शामिल हो जाओ मेरे बच्चो देश की स्वाधीन कराओं मेरी बुढी हड्डीयों मे अव ताकत नहि लेकिन मेरी सौगन्ध है पीठ मत देखाना’ यस घटनापछि विश्वविद्यालय दुई महिनासम्म बन्द गर्नुपरेको थियो । पछिल्लो आन्दोलनकै क्रममा महामनाको शरीर रुग्ण अवस्थामा पुगिसकेको थियो । विश्वविद्यालयकै एक सभामा बोल्नका लागि विद्यार्थीहरूले उनलाई कुर्सीमा बोकेर ल्याएका थिए । तर त्यहाँ उनले पहिलेको जस्तो बुलन्द आवाजमा भाषण सुन्न आतुर विद्यार्थीहरूलाई झिनो आवाजमा भने– Do your duty, Be true to your Almamater डा. राधाकृष्णले उनको यस आवाजलाई जोडपूर्वक बोलेर पुनः विद्यार्थीहरूलाई सुनाए । १५ अगस्ट सन् १९४७ मा भारत पूर्ण रूपमा स्वतन्त्र भयो । तर त्यसवेला महामना भने जीवित थिएनन् ।
४. धार्मिक व्यक्तिका रूपमा मदनमोहन मालवीय
मदनमोहन मालवीयको वंश सनातन हिन्दू धर्मको पक्षपाती थियो । उनको परिवार पनि कर्मनिष्ठ ब्राह्मण आचरणमा रहन्थ्यो । ब्राह्मण परिवार भएकाले संस्कृत भाषामा व्याकरण, धर्मशास्त्र, इतिहास, पुराण, ज्योतिष आदिको अध्ययन गर्नु अनिवार्य नै थियो । कर्मकाण्डको अध्ययनबाट जजमानी गरेर वृत्ति चलाउनु त्यसबेलाका ब्राह्मण परिवारको दैनिकी रहन्थ्यो । मदनमोहन मालवीयको परिवारमा पुस्तौँ अघिदेखि संस्कृतको अध्ययन गरेर पण्डित्याइँ र पुराणवाचन गर्ने परम्परा बसेको थियो । मदनमोहन मालवीयका पिता पं. व्रजनाथ मालवीय श्रीमद्भागवत्का अनन्य भक्त भएकाले उनी पुराणवाचन गरेर नै परिवारको भरणपोषण गर्दथे । त्यसैले बालक मदनमोहन मालवीय पनि पिताले पुराणवाचन गरेको ठाउँमा सँगै गएर कथाश्रवण गर्ने रुचि राख्थे । पं. हरिदेवको पाठशालामा उनले लघुसिद्धान्तकौमुदी, पञ्चतन्त्र, मनुस्मृति, गीता आदि धार्मिक ग्रन्थको अध्ययन गरेका थिए । त्यहाँ गुरु हरदेवले वक्तृत्वकला, मल्लकला, सङ्गीत आदि पनि सिकाउँथे । मदनमोहन मालवीयले विद्याधर्म प्रवद्र्विनी पाठशालामा पनि अध्ययन गरेका थिए । उक्त पाठशाला पं. देवकीनन्दनबाट सञ्चालित थियो । इलाहावादको त्रिवेणीघाटमा लाग्ने माघीमेलामा पण्डित देवकीनन्दनले मदनमोहन मालवीयलाई धार्मिक प्रवचन गर्न प्रोत्साहित गरे । उनले त्यहाँ ७ वर्षकै अल्पायुमा पहिलो पटक धार्मिक व्याख्यान गरेका थिए ।
१५ वर्षका भएपछि उनले आफ्ना घरमा पुस्तौँपुस्तादेखि सुरक्षित रहेका हस्तलिखित ग्रन्थहरूको पोको खोलेर हेर्न थाले । ती हस्तलिखित ग्रन्थमध्ये
‘इतिहास समुच्चय’ को उनले राम्रोसँग अध्ययन गरेका थिए । महाभारतका ३२ ओटा इतिहासका कथाहरू समेटिएको उक्त ग्रन्थले धर्मसम्बन्धी विचार र ज्ञानलाई बढावा दिन ठूलो मद्दत गर्यो । महाभारत ग्रन्थले पनि उनलाई धेरै ज्ञान दियो । उनी विद्यालय जानुभन्दा अघि दैनिक हनुमानचालिसा पाठ गरेर जाने गर्दथे । उनका काका पं. गजाधरप्रसाद मिर्जापुर सरकारी हाइस्कुलका हेड पण्डित थिए । प्रायः छुट्टीका वेला मदनमोहन मालवीय काकासँग जाने गर्दथे । एकपटक त्यहाँ धर्मसभाको अधिवेशन भइरहेको थियो । एक महन्तले सभापतित्व गरिरहेका थिए । त्यहाँ धेरै पण्डितहरूले प्रवचन दिइरहेका थिए । काकासँग अनुमति मागेर युवक मदनमोहनले जीवनमा पहिलो पटक धार्मिक सभामा प्रवचन दिए । त्यस प्रवचनलाई सबैले रुचाएर प्रशंसासमेत गरे । त्यस घटनाबाट उनको उत्साह बढ्यो ।
अङ्ग्रेजको शासनकालमा भारतभरि क्रिस्चियन पादरीहरूको बिगबिगी थियो । उनीहरू मानिसहरूको भिड देख्नेबित्तिकै येशूका बारेमा प्रचार गरी धर्मपरिवर्तन गर्न जोड गर्दथे । एकपटकको कुरा हो, इलाहावादचोकको गिर्जाघरअगाडि एक पादरी प्रत्येक रविवारका दिन माइक राखेर इसाई धर्मका बारेमा व्याख्यान गर्दथे । त्यस कुराबाट असन्तुष्ट भएका युवक मदनमोहन ती पादरीको व्याख्यान समाप्त भएपछि एउटा डिब्बामाथि उभिएर चिच्चाईचिच्चाई भाषण गर्न थाल्थे । कसैको बहकाउमा आएर धर्मपरिवर्तन नगर्न अनुरोध गर्दै उनले ती पादरीले धर्मपरिवर्तन गर्न दिएको तर्कलाई प्रभावपूर्ण ढङ्गबाट खण्डन गरिदिए । मालवीयको प्रवचन र तर्कशक्ति देखेपछि पादरीले धर्मपरिवर्तन गराउन उनलाई विभिन्न प्रलोभन दिन थाले । तर मालवीयलाई त्यसले कुनै प्रभाव पारेन । पछि दुवैले आ–आफ्नो अडान यथावत् राखी दोस्ती गरे । स्वधर्मप्रति यतिसम्म दृढ थिए मदनमोहन मालवीय ।
उनी गायत्री मन्त्रका पनि उपासक थिए । उनी निरन्तर गायत्री मन्त्र जपिरहन्थे । उनको ईश्वरभक्ति देखेर मातापिता पनि असाध्यै खुसी थिए । तर छोरो कतै साधु हुने हो कि भन्ने चिन्ताले उनीहरूले मालवीयको निगरानी पनि गर्न थालेका थिए । मदनमोहन मालवीयले गीतापाठलाई बाल्यकालदेखि नै आत्मसात गरेका थिए । गीता, महाभारत, श्रीमद्भागवत्पुराण आदि उनका सर्वाधिक प्रिय ग्रन्थ थिए । श्रीकृष्ण उनको लोकरञ्जक र लोकरक्षक दुवै रूपको चरित्रले उनलाई ठूलो प्रभाव पारेको थियो । श्रीकृष्णको कर्मवाद तथा राजनीतिक चिन्तनबाट पनि उनी प्रभावित थिए ।
अध्यात्मका विषयमा उनी भन्दथे– ‘जब यह विश्वास हो जायगा कि परमात्मा घट घट व्यापी है, किसीको तकलीफ न देनी चाहिए, उस समय ना तो किसी से लडाइँ होगी और न झगडा । उस समय सुख एवम् शान्तिका राज्य होगा । मनुष्यका कल्याण इसीसे है ।’
उनले व्यक्तिगत धर्मका विषयमा भनेका छन्– ‘घर में ब्राह्मण धर्म है, परिवारमें सनातन धर्म है, समाज में हिन्दू धर्म है, देश में स्वराज धर्म है और विश्वमे मानव धर्म है ।’ धर्मका विषयमा उनको यस्तो व्यापक व्याख्या रहन्थ्यो । त्यसैले भारतका धेरै राजनेता तथा विद्वान्हरूले मदनमोहन मालवीयलाई विभिन्न विशेषणबाट सम्बोधन गरेको पाइन्छ । हिन्दू विश्वविद्यालयको रजतजयन्ती (वसन्त पञ्चमी, २१ जनवरी १९४२) का अवसरमा महात्मा गान्धीले विद्यार्थीहरूलाई सम्बोधन गर्दै भनेका थिए– ‘मालवीयजी महारज के इतने निकट रहकर भी अगर आप उनके जीवन से सादगी, त्याग, देशभक्ति, उदारता और विश्वव्यापी प्रेम आदि सद्गुणोंका अपने जीवन में अनुकरण न कर सके, तो कहिए आपसे बढकर अभागा और कौन होगा ?’ महामना मदनमोहन मालवीयका यिनै व्यक्तित्व र विशेषता देखेर रवीन्द्रनाथ टैगोरले उनलाई ‘जागृत भगवान्’, डा. राधाकृष्णनले ‘राष्ट्र गुरु’, महान कर्मयोगी, डा. वासुदेवशरण अग्रवालले ‘विश्वात्मा पुरुष’ र देशबन्धु एन्ड्रजले ‘धर्मावतार’ पदवी दिएका छन् ।
उनी धर्मलाई आफ्नो आत्माजस्तै ठान्दथे । त्यसैले उनी भन्दथे– ‘शिर जावे तो जाय प्रभु मेरा धरम् ना जाय’ । उनको धर्मका बारेमा अर्को विश्वास थियो– ‘सवसे बडा उपकार जो किसी प्राणी का कोई कर सक्ता है, वह यह हे कि उसको धर्मका ज्ञान करा दे, धर्म मे उसकी श्रद्धा उत्पन्न कर दे, अथवा दृष्ठ करदे । संसार में धर्म के समान दुसरा कोई दान नही ।’उनी भन्दथे– ‘पृथ्वी मण्डल पर जो वस्तु मुझको सवसे अधिक प्यारी है, वह धर्म है और वह सनातन धर्म है ।’ धर्मप्रति उनको यति ठूलो सम्मान, प्रेम र भक्ति थियो । तर पनि उनी धार्मिक दृष्टिकोण भनेको विशुद्ध मानवतावादी धार हो भन्ने विचार राख्थे । त्यसैले उनले १९०९ को काङ्ग्रेस अधिवेशनमा भनेका छन्– ‘हमारे धर्म हमे वताते है कि मनुष्य की सेवाद्वारा ही ईश्वर सेवा सर्वोत्तम है ।’
महामना मदनमोहन मालवीय शुद्ध, शाकाहारी भोजन गर्दथे । उनी धार्मिक प्रवृत्तिका भए पनि अन्य धर्मको घृणा भने गर्दैनथे । सबै धर्मप्रति समभाव राख्ने उनको स्वभाव थियो । त्यसैले भारतजस्तो विभिन्न धर्म, सम्प्रदाय र धार्मिक गुटमा विभाजित समाजमा पनि उनी सधैँ प्रिय र सम्मानित भए । जुनसुकै धार्मिक झगडाका उनी सख्त विरोधी थिए ।
५. कानुन व्यवसायीका रूपमा मदनमोहन
महामना मदनमोहन मालवीयको प्रखर बुद्धि, विवेचनात्मक पद्धति र अद्भुत वक्तृताशक्तिबाट प्रभावित भएका राजा रामपाल सिंहले पत्रिकाबाट हात झिकेपछि उनलाई कानुन अध्ययन गर्न सल्लाह दिएका थिए । वास्तवमा कानुन अध्ययन गर्ने सर्तमा नै मालवीयलाई अवकाश दिइएको थियो । वचनका पक्का मालवीय प्रयाग फर्केपछि सम्पादन र समाजसेवाबाट समय बचाएर कानुन अध्ययन गर्न थालेका थिए । त्यसबेला रायबहादुर पं. बलदेव रामजी दुवे प्रयागको जान्सनगन्जमा बस्तथे । उनैका घरमा गई कानुनको अध्ययन गरेर बलदेव रामजीको सहयोगबाट उनले वकालतका लागि ‘प्लिडर’ पास गरे । यसको केही समयपश्चात् उनले १८९१ मा एलएलबी पास गरे । गुरु पं. बेनीराम कान्यकुब्जका साथमा रहेर उनले वकालतको काम सिके । सन् १८९२ बाट उनले स्वतन्त्र रूपमा वकालतको सुरुवात गरेका थिए । छोटो समयमा नै उनी तीव्र मेधा भएका वकिलका रूपमा चर्चित भए । वाक्शक्ति र लेखनकलाका कारण उनी छिट्टै नै इलाहावाद सहरको सफल वकिलमा गनिन थाले । तिनताका राजनीति, पत्रकारिता र वकालत पेसालाई पनि उनले साथसाथै लगेका थिए । यस पेसाबाट उनलाई ठूलो आर्थिक लाभ पनि भएको थियो । उनले जागिर सुरु गरेपछि मदनमोहन मालवीयको मध्यमवर्गीय परिवार आर्थिक समस्याबाट मुक्त भएको थियो ।
वकालती पेसालाई राम्रोसँग चलाउनका लागि उनी रातोदिन मिहिनेत गर्दथे । त्यसबेला आममानिस इलाहावाद हाइकोर्टमा बहस गर्ने चर्चित वकिलहरूलाई जिल्ला कचहरीमा लगेर आफ्ना महŒवपूर्ण मुद्दामाथि बहस गराउने गर्दथे । महŒवपूर्ण मुद्दाहरूमा विस्तारै जिल्ला कचहरीमा पनि मदनमोहन मालवीयको माग बढ्न थाल्यो । सहरमा व्यस्त वकिलको पहिचान बनाएपछि उनले एउटै बहसको एक÷दुई हजारसम्म शुल्क लिने गर्दथे । तर त्यो शुल्क उनी आफैँ उठाउँदैनथे । त्यसको सम्पूर्ण जिम्मा उनले आफ्ना निजी सहायक जोरई महाराजलाई दिएका थिए । निजी सहायकले उक्त रकम मालवीयका भाइ पं. श्यामसुन्दरलाई बुझाउँथे । मालवीयले उनीसँग कति रकम जम्मा भयो भनेर कहिल्यै पनि सोध्दैनथे । इलाहावाद हाइकोर्टमा वकालत गर्दागर्दै उनी त्यहाँका गन्यमान्य चार वकिलमध्ये एक थिए । त्यतिवेला पं. मोतीलाल नेहरू, पं. सुन्दरलाल, जोगेन्द्रनाथ चौधरी र पं. मदनमोहन मालवीयलाई गन्यमान्य वकिलका रूपमा चिनिन्थ्यो ।
मालवीयले वकालती पेसामा समेत सत्य र औचित्यको बराबर पालन गर्दथे । कुनै पनि मुद्दा हेर्नु र स्वीकार्नुभन्दा पहिले उनले त्यसको गम्भीरता र सत्यताको सही पहिचान गरी मुद्दा जित्नुपर्ने मानिसको मुद्दा छ भने मात्र जिम्मा लिने गर्दथे । पैसाका लागि झुटो र फर्जी मुद्दा हेर्ने काम उनले कहिल्यै गरेनन् । मुद्दा नजित्नुपर्ने मानिसलाई जिताउन उनी कहिल्यै बहसमा उत्रिएनन् । यो नै उनको वकालती पेसाको प्रमुख धर्म रह्यो । वकालत पेसाबाट पैसा र सम्मान दुवै पाइरहेका मदनमोहन मालवीयले एकाएक सन् १९१२ मा उक्त पेसा नै त्यागिदिए । उनले काशी हिन्दू विश्वविद्यालयको स्थापना गर्न त्यस्तो निर्णय लिएका थिए । छात्रजीवनदेखि नै उनको विश्वविद्यालय स्थापना गर्ने तपस्या थियो । यस्तो अवसरलाई उनी गुमाउन चाहँदैनथे ।
उनको यस्तो निर्णयप्रति इलाहावाद हाइकोर्टका मुख्य न्यायाधीशले भनेका थिए– ‘दि वाँल वाज लाइंग ऐट हिज फिट बट हि रिफ्युज्ड टु किक इट अर्थात् सफलताको शिखर उनका सामुन्नेमा थियो तर उनले त्यसलाई स्वीकार्न मनाही गरे । त्यस्तै गोपालकृष्ण गोखलेले पनि भनेका छन्– ‘लोग मेरे त्यागकी चर्चा करते है । मैने क्या त्याग किया, मै तो खुशाहाली मे रहा और खुशहाली मे पला । त्याग तो मालवीयजी ने किया जिन्होने गरीबी से खुशहाली प्राप्त की किन्तु खुशहाली के लिए प्राप्त की गई अपनी समृद्धि के जरिए वकालत को उन्होने एक झट्के मे त्याग कर पुनः गरीवी अपना ली ।’
वकालत पेसा छाडेको झन्डै एक दशकपछि काङ्ग्रेस वर्किङ कमिटीकको अनुरोधमा महामना मदनमोहन मालवीयले पुनः वकालत गर्नुपरेको थियो । भारतीय स्वतन्त्रता सङ्ग्रामका १२५ जना क्रान्तिकारी योद्धाहरूले ऐतिहासिक चौरीचौरा काण्डमा मृत्युदण्डको सजाय पाउने अवस्था थियो । यस मुद्दामा सेसन कोर्टले मुत्युदण्डको सजाय तोकेको थियो । महामना मदनमोहन मालवीयले हाइकोर्टका अङ्ग्रेज मुख्य न्यायाधीश सर ग्रिमवुड मियर्सका सामुन्ने जोडदार बहस गरेका थिए । भनिन्छ, न्यायालयको इतिहासमा पहिलो पटक यस्तो भएको थियो कि, बहसका दौरानमा मुख्य न्यायाधीश तीनपटक आफ्नो कुर्सीबाट उठेर वकिललाई अभिवादन गरेका थिए । त्यस्तै बहस सकिएपछि इजलासबाट ओर्लिएर खुला कचहरीमा मालवीयसँग उनले भने– ‘जिस स्तरकी बहस आपने इस अपील मे की है वह प्रशंसनीय है । हम यह तो नहीं जानते कि अन्ततः इस अपील मे हमारा फैसला क्या होगा किन्तु इतना हम कह सक्ते है कि इस अपील के मुल्जिमो की पुश्त दर पुश्त आपकी आभारी रहेगी कि आपने इस अपील में इतने ऊँचे स्तरकी बहस की ।’ यसै प्रसङ्गबाट महामना मदनमोहन मालवीयको वकालती क्षमताको अनुमान लगाउन सकिन्छ ।
६. पत्रकारका रूपमा मदनमोहन मालवीय
मदनमोहन मालवीयले पत्रकारिताका क्षेत्रमा पनि कार्य गरेका थिए । उनले धर्मसंस्कृतितर्फ शोधपरक लेखहरू छपाएका छन् भने राष्ट्रियता, लोकतन्त्र, स्वाधीनता आदि विषयमा पनि लेखहरू प्रकाशित गराएका छन् । पत्रकारिता गर्नु उनको व्यवसाय नभएर राष्ट्रिय जागरण तथा राष्ट्रिय नवनिर्माणप्रतिको जिम्मेवारी थियो । सन् १८८६ मा काङ्ग्रेसको कलकत्ता अधिवेशनमा कालाकाङ्करका राजा रामपाल सिंहसँग उनको भेट भएको थियो । त्यहाँ मदनमोहन मालवीयको प्रखर भाषण सुनेपछि प्रभावित भएका रामपाल सिंहले ‘हिन्दुस्तान’ नामक पत्रिकाको सम्पादक बन्न अनुरोध गरेपछि त्यस प्रस्तावलाई उनले स्वीकार गरे । त्यस पत्रिकालाई उनले सफलतापूर्वक सञ्चालन गरेका थिए । उनको समाचार दिने कला र सम्पादकीय व्यक्तित्वबाट पत्रिका निकै चर्चामा आएको थियो । उनले सन् १९८७ देखि १९८९ सम्म त्यस पत्रिकाको सम्पादक भएर कार्य गरे । एकाएक रामपाल सिंहसँगको सर्त उल्लङ्घन भएपछि त्यस पत्रिकाको सम्पादक पदबाट मदनमोहनले राजीनामा दिए ।
यस घटनापछि पनि मालवीयको पत्रकारिताप्रति सम्बन्ध रहिरह्यो । इलाहावादमा आएर उनले सन् १९०७ मा ‘अम्युदय’ पत्रिका प्रकाशित गरे । यस पत्रिकामा पाठकका रुचिअनुसार उनले हरेक अङ्कमा अलगअलग विषयमा लेखहरू छपाए । अङ्ग्रेज सरकारको कडा विरोधका कारण यो पत्रिका बन्द गर्नुपर्यो ।
हिन्दी माध्यमबाट प्रकाशित पत्रिकाबाट अङ्ग्रेज सरकारले जनताको आवाज सुनिरहेको थिएन । तसर्थ मदनमोहन मालवीयले अङ्ग्रेजी भाषामै पत्रिका प्रकाशित गर्ने निर्णय लिए । २४ अक्टुबर सन् १९०९ को विजयादशमीको अवसर पारेर ‘लिडर’ नामक पत्रिका प्रकाशित गरियो । आर्थिक अभावका कारणले डेढ वर्षमात्र चलेर उक्त पत्रिका बन्द हुने स्थितिमा पुग्यो । मदनमोहन मालवीयले यो पत्रिकालाई मर्न दिनुहुँदैन भनेर चन्दा सङ्कलन गर्न थाले । यस क्रममा उनले सुरुमा आफ्नै पत्नीसँग चन्दा मागे । मालवीयले पत्नीसँग ‘तिम्रा चार पुत्र मात्र छन्, यो पत्रिका तिम्रो पाँचौँ पुत्र हो’ भनेपछि पत्नीले आफूले लगाएका गहनासमेत खोलेर उनलाई दिइन् । यसरी अर्थसङ्कलन गरी त्यस पत्रिकालाई मदनमोहन मालवीयले बचाएका थिए । पछि घनश्यामदास विड्लाले उक्त पत्रिका किनेर सञ्चालन गर्न थाले ।
सन् १९१० मा ‘मर्यादा’ नामक पत्रिका पनि मदनमोहन मालवीयकै सत्प्रयासबाट प्रकाशित हुन थाल्यो । त्यस्तै किसानहरूका समस्यालाई सम्बोधन गर्न उनले सन् १९१७ मा अभ्युदय प्रेस बाट नै ‘किसान’ पत्रिका प्रकाशित गर्न सुरु गरेका थिए । झन्डै ३÷४ वर्षसम्म यो पत्रिका सञ्चालनमा आएको थियो । ‘हिन्दुस्तान टाइम्स’ नामक पत्रिकाको सञ्चालनमा उनी लामो समयसम्म संलग्न रहे । उनी त्यस पत्रिका सञ्चालक समितिका अध्यक्षसमेत बनेका थिए । उनैको प्रेरणाबाट सन् १९३० देखि ‘हिन्दुस्तान’ नामबाट त्यसैको हिन्दी संस्करण पनि प्रकाशित भयो ।
धार्मिक व्यक्तित्व मदनमोहन मालवीयले धार्मिक जागरण ल्याउन २० जुलाई १९३३ मा ‘सनातन धर्म’ नामक साप्ताहिक पत्रिका निकाले । पत्रिकाका सम्पादक भुवनेश्वर मिश्र भए पनि समयसमयमा मालवीयजी त्यसको सम्पादकीय लेख्ने गर्दथे । सनातन धर्म महासभाको उद्देश्यपूर्ति गर्न मालवीयकै प्रेरणाले लाहोरबाट ‘विश्वबन्धु’ साप्ताहिक प्रकाशित हुन थाल्यो । त्यस्तै दिल्लीबाट प्रकाशित हुने ‘गोपाल’ नामक पत्रिकाका उनी संरक्षक थिए । मलवीय जीवित छँदै यस पत्रिकाले फतहचन्द्र शर्माको सम्पादकत्वमा सन् १९४५ मा उनको विशेषाङ्क पनि प्रकाशित गरेको थियो ।
मदनमोहन मालवीय प्रेस स्वतन्त्रताका साथसाथै समाचारपत्रका सम्पादकहरूको स्वतन्त्रताका पक्षमा पनि बोलिरहन्थे । सन् १९०९ मा ‘स्वराज्य’ नामक उर्दू सम्पादकहरूलाई दश महिनाभित्र राजद्रोहको आरोपमा फसाएर थुनिएका वेला उनका परिवारहरूलाई आर्थिक सहायता जुटाइदिएर उनीहरूको मुद्दा हेरिदिन उनले वरिष्ठ वकिल पुरुषोत्तमदास टण्डनलाई अनुरोध गरेका थिए । सन् १९०८ मा प्रयागमा ‘अखिल भारतीय सम्पादक सम्मेलन’ को आयोजना गरी स्वागताध्यक्षका हैसियतबाट उनले सरकारले ल्याउन चाहेको नयाँ ‘प्रेस एक्ट’ र ‘न्यूज पेपर एक्ट’ को कडा भत्र्सना गरेका थिए ।
सन् १९१० मा अङ्ग्रेज सरकारले ‘प्रेस एक्ट’ विधेयक प्रस्तुत गरी प्रेस स्वाधीनतालाई नियन्त्रण गर्न खोज्दा महामना मदनमोहन मालवीयले त्यसको कडा विरोध गरेका थिए । भारतकै नेताहरूले दबाब दिँदासमेत उनले त्यसको पर्वाह नै नगरी विरोधमा उत्रिएका थिए ।
समग्रमा भन्नुपर्दा महामना मदनमोहन मालवीय एक कुशल सम्पादक, लेखक र कविसमेत थिए । विभिन्न समयमा लेखिएका उनका कविताहरू विभिन्न पत्रिकाहरूमा प्रकाशित भएका छन् । भारतीय स्वराजप्राप्ति, स्वाधीनता, लोकतन्त्र र धार्मिक स्वतन्त्रताका लागि उनले विभिन्न पत्रिकामा सम्पादकीय लेखनसमेत गरेर भारतीय जनतालाई सचेत गराएका थिए । उनले व्यावसायिक पत्रकारिताका लागि लेखकलाई पारिश्रमिक दिने, सम्पादक एवम् संवादाताहरूलाई पारिश्रमिक दिने व्यवस्था गरी पत्रकार र पत्रिकाको सम्मान बढाएका थिए । भारतीय स्वतन्त्रता सङ्ग्रामका समयमा उनले चलाएका पत्रिकाबाट आमजनता लाभान्वित भई लोकतन्त्रको लडाइँमा समर्पित भएका घटनाले उनी चर्चाको शिखरमा थिए । तसर्थ उनलाई भारतीय सञ्चारक्षेत्रमा सम्मानका दृष्टिले हेर्ने गरिन्छ ।
७. शिक्षासेवामा महामना
भारतमा वनारस हिन्दू विश्वविद्यालय स्थापना हुनुपूर्व पाँचओटा विश्वविद्यालयहरू थिए । सन् १९५४ जुलाई १९ मा सरकारी शिक्षानीति ‘चाल्र्सवुड’ घोषणापश्चात् सन् १९५८ मा प्रेसिडेन्सी विश्वविद्यालय कलकत्ता, मद्रास र बम्बई गरी तीनओटा विश्वविद्यालयहरू एकैपटक स्थापना भएका थिए । लन्डन विश्वविद्यालयका नमुनामा निर्मित यी विश्वविद्यालयहरूमा सीमित विषयहरूमात्र अध्ययन–अध्यापन हुन्थ्यो । त्यसवेलाको भारतमा अङ्ग्रेजशासन रहेकाले सीमित भारतीय युवाहरूलाई सामान्य शिक्षा दिलाई नोकरी प्रदान गर्नु मात्र यसको उद्देश्य रहेको देखिन्छ । सन् १८६८ मा लाहोर ओरियन्टल कलेजपछि ‘युनिभर्सिटी एक्ट’को अधीनमा यो सन् १८८२ मा विश्वविद्यालयका रूपमा प्रकट भएको थियो । सरकारी शिक्षाप्रचारको नीतिअन्तर्गत उत्तरप्रदेशको इलाहावादमा सन् १८७२ मा म्योर सेन्ट्रल कलेजको स्थापना भएको थियो । भारतीय शिक्षा आयोगको सिफारिसमा ‘युनिभर्सिटी एक्ट’को अधीनमा रही सन् १८८७ मा यो इलाहावाद विश्वविद्यालयका रूपमा परिवर्तित भएको थियो । त्यस्तै अङ्ग्रेजहरूसँग राम्रो सम्बन्ध रहेका सर सैयद अहमत खाँको प्रयासबाट सन् १८७५ मा अलिगढ मुस्लिम एङ्लो ओरियन्टल कलेज स्थापना भएको थियो । यसैलाई आधार बनाएर सन् १९२० मा अलिगढ मुस्लिम विश्वविद्यालय स्थापना भयो । भारत स्वतन्त्र हुनुपूर्व यिनै विश्वविद्यालयले जनशक्ति उत्पादन गर्दथे ।
यसरी सरकारी नीतिको प्रचारप्रासर गरेर निश्चित उद्देश्यप्राप्तिका लागि यी विश्वविद्यालयले काम गर्ने गर्दथे । यी विश्वविद्यालयहरूका कुलपति र उपकुलपतिहरू प्रायः भाइसराय वा अङ्ग्रेजहरू नै हुन्थे । यस्तो परिस्थितिमा महामना मदनमोहन मालवीयले एउटा छुट्टै सोच र सङ्कल्पबाट वनारस हिन्दू विश्वविद्यालय स्थापना गर्ने प्रयास गरेका थिए । यस प्रयासमा एनी बेसेन्ट नामकी एक महिलाले उनलाई महŒवपूर्ण सहयोग र सल्लाह दिने गर्थिन् ।
मदनमोहन मालवीयले छात्रजीवनमा नै भारतमा एउटा हिन्दू संस्कृति र सभ्यतासुहाउँदो विश्वविद्यालय खोल्ने अठोट गरिरहेका थिए । बीएसम्मको पढाइ पूरा गर्नेबित्तिकै उनले आर्थिक समस्याका कारण एमएको पढाइ पूरा गर्न पाएनन् र एक सरकारी हाइस्कुलमा पढाउन थाले । यसैबीच भारतीय राष्ट्रिय काङ्ग्रेसको अधिवेशनमा भाग लिन कलकत्ता पुगेका मदनमोहन मालवीयले आफ्नो जागिरलाई छोडेर पत्रकारितातर्फ लागे । त्यस कामलाई पनि अगाडि बढाउँदै राजनीति र वकालती गर्न थाले । यसरी उनी धार्मिक संस्था एवम् सामाजिक चेतना जगाउने प्रकृतिका संस्थाहरू खोल्दै हिँडे । छोटो अवधिमै उनको कार्यक्षेत्र निकै व्यापक बन्दै गयो । उनी जहाँजहाँ काम गर्थे त्यहाँ लोकप्रिय बन्दै गए । उनले हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने जोडदार प्रयास गरे । सोही प्रयासका कारण उत्तरप्रदेशमा देवनागरी लिपिको हिन्दी भाषाले सरकारी तथा न्यायालयको कामकाजी भाषाका रूपमा मान्यता पायो । यी सबै कार्यको श्रेय मदनमोहन मालवीयलाई जान्छ । यसैबीच उनले दूरदरारका गाउँबाट आएका विद्यार्थीहरूका लागि इलाहावाद सहरमा एक सुविधासम्पन्न होस्टल बनाउने प्रयास गरे । चन्दामार्फत इलाहावादमा एक भव्य होस्टल निर्माण गर्न उनी सफल भए । उक्त होस्टलको नाम उनले हिन्दू बोर्डिङ हाउस राखे । यस होस्टलमा उनले आफ्नो रुचि र गच्छेअनुसारको अलग्गै भोजन बनाएर खाने व्यवस्थासमेत गरिदिएका थिए । शिक्षाक्षेत्रको सेवामा उनको यो नै पहिलो कदम हो ।
सन् १९०४ मा काशीनरेश महाराज प्रभुनारायण सिंहको अध्यक्षतामा एउटा समिति बनाएर मदनमोहन मालवीयले वनारस सहरमा एउटा विश्वविद्यालय बनाउने योजना प्रस्तुत गरे । यसैबीच सन् १९०५ मा वनारस सहरमा काङ्ग्रेस पार्टीको अधिवेशन भएको थियो । त्यस अधिवेशनमा पनि उनले विश्वविद्यालय बनाउने प्रस्ताव राख्दा काङ्ग्रेस पार्टीको सभाले अनुमोदन गरेको थियो । सन् १९०६ को प्रयागको कुम्भमेलामा उनले काशीमा एक भारतीय विश्वविद्यालय खोल्ने सार्वजनिक घोषणा गरेका थिए । त्यसपछि सन् १९११ को जुलाई १५ मा एक संशोधित कार्ययोजनासहित उनले भारतीय जनतासामु एक करोड रुपियाँको योगदानका लागि पत्रिकामार्फत् अपिल गरे । यस कार्यका लागि उनले लगातार प्रयास गरे । अन्ततोगत्वा १ अक्टोबर सन् १९१५ मा केन्द्रीय एसेम्बलीद्वारा वनारस हिन्दू विश्वविद्यालय बिल पारित भयो । तत्पश्चात् ४ फेब्रुवरी सन् १९१६ मा तत्कालीन भाइसराय लर्ड हार्डिङ्गद्वारा उक्त विश्वविद्यालयको शिलान्यास गरिएको थियो । शिलान्यास हुनुपूर्व धार्मिक आस्था भएका मदनमोहन मालवीयले सवाकरोड गायत्री मन्त्रको पुरश्चरण गरेका थिए । यस महान् कार्यलाई पूरा गर्न मालवीय आफ्नो घरपरिवार र वाकालत पेसासमेत छाडेर काशीमा बस्न थाले । उनी देशका कुनाकुनामा गएर चन्दासङ्कलन गर्न थाले । उनले सुरुमा एक करोड उठाउने लक्ष्य राखेका थिए । तर उनी डेढ करोड रुपियाँ सङ्कलन गर्न सफल भए । यसरी चन्दा माग्दाका अनेकौँ रोचक किंवदन्तीहरू उनको जीवनसँग गाँसिएका छन् ।
काशीसहरसँगै जोडिएको त्यस विशाल भूभागमा उनले केन्द्रीय सचिवालय, विद्यार्थी पढ्ने भवन, छात्रावास, प्राध्यापक आवासगृह, अस्पताल, हाइस्कुल, बजार, खेलकुद मैदान आदि सबै कुराको योजनाबद्ध रूपमा निर्माण गराएका थिए ।
काशी हिन्दू विश्वविद्यालय नामकरण गरिएका कारण त्यस विश्वविद्यालयमा गुरुकुल परम्पराअनुसार प्राचीन वैदिक शिक्षामात्र दिइन्छ भन्ने अफवाह व्यापक रूपमा फैलिएको थियो । तर यस कुरालाई मदनमोहन मालवीयले खण्डन गर्दै ‘विश्वका विश्वविद्यालयहरूले जुन विषयहरू पढाउने गर्दछन्, ती सबै विषयहरू यहाँ पढाइ हुन्छन् र यहाँ कुनै पनि किसिमको जातीय एवम् धार्मिक भेदभाव नगरी सबैलाई समान रूपमा पढ्ने अवसर प्रदान गरिन्छ । यदि यी सब कुरा गरिएन भने यसले विश्वविद्यालयको स्वरूप नै धारण गर्न सक्दैन ।’ भनेर सबैलाई आश्वस्त पारेका थिए । यसको स्थापनाकालदेखि नै उनले विज्ञान, इन्जिनियरिङ, चिकित्साशास्त्रजस्ता आधुनिक विषय तथा आयुर्वेद, वाणिज्यशास्त्रलगायत मानविकीका विभिन्न विषयहरूसमेत अध्ययन–अध्यापन गराउने व्यवस्था मिलाएका थिए । भारत स्वतन्त्र भएपछि त्यस विश्वविद्यालयबाट उत्पादन भएका जनशक्ति हरेक क्षेत्रमा गएर काम गर्न सफल भए । राष्ट्रनिर्माणमा कहीँकतै जनशक्तिको अभाव खड्किन दिइएन । भारतलाई समृद्ध बनाउने उनको दूरदृष्टिको खुबै प्रशंसा गरियो । विश्वविद्यालयका सञ्चालक, कुलपति एवम् उपकुलपतिसमेतको जिम्मेवारी सम्हालेर उनले शिक्षाक्षेत्रमा महŒवपूर्ण योगदान दिएका छन् ।
८. हिन्दी भाषाको प्रचारमा महामना
सन् १८५७ पूर्व बेल्जलीले १८०१ मा फोर्ट विलियम कलेजको स्थापना गरेपछि सन् १८५५ मा लार्ड डलहौजीले एउटा नयाँ शिक्षानीतिको कार्यरूपअनुसार स्वदेशी भाषाको विकास गर्ने अवसर प्राप्त गरेका हुन् । फोट विलियम कलेजका प्रधानाचार्य डा. गिलक्राइस्ट फारसी र हिन्दीका राम्रा ज्ञाता थिए । उनको कलेजको मुख्य उद्देश्य भारतीयहरूलाई अङ्ग्रेजी पढाउनुको सट्टा भारतमा रहेका अङ्ग्रेजहरूलाई हिन्दुस्तानी भाषाको ज्ञान दिलाउनु रहेको थियो । लर्ड डलहौजीका समयमा बर्नाक्यूलर स्कुल खुल्यो । सन् १९५८ मा कलकत्ता, मद्रास र बम्बईमा पहिलोपटक तीनओटा विश्वविद्यालयहरू खुलेपछि भारतमा उच्च शिक्षाको बाटो खुलेको हो ।
सन् १८६३ मा हिन्दी भाषा आन्दोलनको शिलान्यास गर्ने श्रेय राजलक्ष्मण सिंहलाई जान्छ । उनले फारसी र अरबीरहित विशुद्ध हिन्दीको मात्र प्रयोगको वकालत गरेर आजीवन आफू पनि त्यसमा अडिग रहेका थिए । उनले हिन्दी गद्यसाहित्यलाई व्यवस्थित रूप दिने प्रयास गरे । त्यस्तै सन् १८६२ देखि उनले ‘प्रजाहितैषी’ नामक पत्रिका प्रकाशनमा ल्याए । त्यसपछि भारतमा थुप्रै हिन्दी पत्रिकाहरू प्रकाशनमा आएका हुन् । यसै क्रममा महर्षि दयानन्द सरस्वती र भारतेन्दु हरिश्चन्द्र तथा उनका मण्डलीका सदस्यहरूले यस आन्दोलनलाई सङ्गठित रूपमा अगाडि बढाए । महर्षि दयानन्द सरस्वती (सन् १८२५–१८९८) ले सन् १८६९ मा आर्यसमाजको स्थापना गरे । उनले आर्यसमाजका सबै कार्यक्रमहरूमा हिन्दीमा नै प्रवचन गर्ने कार्य गरे ।
आर्यसमाजका सबै साहित्यहरू हिन्दी भाषामा नै छाप्ने गरिन्थ्यो । उनीहरू हिन्दीलाई आर्यभाषा पनि भन्ने गर्दथे । भारतेन्दु (सन् १८५१–१८८५) लाई आधुनिक हिन्दी गद्यसाहित्यको जन्मदाताका रूपमा मानिन्छ । यी दुई व्यक्तिले भारतीय समाजमा हिन्दी भाषाको व्यापक प्रचार गरे । यिनीहरूको देहान्तपछि यिनीहरूकै भावना र लक्ष्य बोकेर ‘काशी नागरी प्रचारिणी सभा’ को गठन भयो । तर यसको ठीक एक वर्षपहिले सन् १८८४ मा प्रयागमा ‘हिन्दी उद्धारिणी प्रतिनिधिसभा’ नामक संस्था गठन गरेर मदनमोहन मालवीयले हिन्दीको प्रचारअभियान सुरु गरिसकेका थिए । उनले धेरै कार्यकर्ता तयार गरी हिन्दी भाषाको प्रचार गरे । धेरैलाई हिन्दीमा लेख्न प्रेरित गरे । साथै उनले हिन्दी साहित्यका पुस्तकालय खोल्ने कार्य पनि गरे । सन् १९८९ को नोभेम्बरमा प्रयागमा मालवीयकै प्रेरणाबाट भारती भवन पुस्तकालय खोलिएको थियो । अहिले यो पुस्तकालय एउटा प्रकाशन संस्थाका रूपमा विकसित भइसकेको छ ।
सन् १९३६ को सरकारी आदेशबाट प्रत्येक प्रान्तमा कामकाजको भाषा राष्ट्रिय भाषामा हुनुपर्ने व्यवस्था भए पनि उर्दू र फारसी भाषाकै प्रचलन बढी रहेको थियो । यसले गर्दा स्थानीय नागरिकहरूलाई सरकारी कार्यालय एवम् अदालततिर काम गर्न कठिन भएको थियो । यसबीचमा राजेन्द्रलाल मित्र, बोम्स, मिन्कौटजस्ता व्यक्तिहरूले हिन्दीको समर्थन गरे पनि उर्दू फारसीलगायतका भाषाले नै प्राधान्य पाएका थिए । सरकारी आदेश हुँदाहुँदै पनि हिन्दी भाषा प्रचलनमा नआउनु मुख्य कारण अङ्ग्रेजी शासकहरूको भ्रमपूर्ण धारणा हो भन्ने कुरामा हिन्दुस्तानीहरू विश्वास राख्दथे । तसर्थ यस भ्रमलाई हटाउन सन् १८८१ मा कानुनलाई संशोधन गरी देवनागरी लिपि र हिन्दी भाषालाई कामकाजको भाषाका रूपमा मानी विहार, मध्यप्रदेशलगायतका प्रान्तमा चलाउन थालियो । तर उत्तरप्रदेशमा भने उक्त आदेश कार्यान्वयन हुन सकेको थिएन । तर मदनमोहन मालवीयको प्रयासबाट नै उत्तरप्रदेशमा पनि कामकाजको भाषा हिन्दी हुन पुग्यो ।
सन् १९९३ मार्च १० मा ठाकुरप्रसाद सिंह, कृष्णचन्द्र, राधाकृष्ण दास, पण्डित जगन्नाथ दास आदि विद्यार्थीहरूले एउटा सभाको आयोजना गरेका थिए र त्यस सभालाई ‘नागरी प्रचारिणी सभा’को रूप दिइएको थियो । अन्य कोही मानिस नभएपछि पण्डित मदनमोहन मालवीयलाई नै यसको नेतृत्व लिइदिन आग्रह गरिएको थियो । यसैबीच मदनमोहन मालवीयले तीन वर्षसम्म वकालत पेसालाई थाती राखी एउटा सय पृष्ठको शोधमूलक हिन्दी निबन्ध लेखेर प्रकाशित गरे । जसको शीर्षक थियो ‘कोर्ट कैरेक्टर एन्ड प्राइमरी एजुकेसन इन नर्थ वेस्ट्रन प्रिविसेस एन्ड अवध ।’ लामो प्रयासपछि अन्ततः १४ अप्रिल १९०० मा गभर्नरले अदालतमा फारसी लिपिका साथै नागरी लिपिको प्रयोग गर्ने आदेश दिए ।
‘नागरी प्रचारिणी सभा’, काशीको प्राङ्गणमा विशाल सभाको आयोजना गरिएको थियो । त्यसमा विभिन्न प्रान्तबाट ३०० प्रतिनिधिहरूले भाग लिएका थिए । त्यसमध्ये ४२ जना हिन्दी पत्रिकाका सम्पादकहरूको उपस्थिति रहेको थियो । सन् १९१० अक्टोबर १०–१२ मा भएको उक्त सम्मेलनको अध्यक्षता मालवीयले नै गरेका थिए । त्यसमा उनले लामो भाषण गरेर हिन्दी भाषा सिक्ने र अङ्ग्रेजीबाट हिन्दी भाषामा पुस्तकहरू अनुवाद गर्ने भनेर जनतासँग अपिल गरेका थिए ।
सभाको यो प्रथम सम्मेलनको गर्भबाट नै ‘हिन्दी साहित्य सम्मेलन’ नामक संस्थाको जन्म हुन पुग्यो । यसका पाँच विभागहरू थिए । नागरी प्रचारिणी सभा सम्मेलनमा परिणत भएको थियो । सन् १९१८ मा इन्दौरमा यसको आठौँ अधिवेशन बोलाइएको थियो । त्यसको अध्यक्षता पनि महामनाले नै गर्नुपर्ने थियो । तर व्यस्तताका कारण सहभागी हुन नपाए पनि उनले महात्मा गान्धीलाई पत्र लेखेर जानकारी दिएका थिए । त्यस सम्मेलनमा गान्धीले मलवीयको हिन्दी भाषाको ज्ञान र त्यसप्रतिको उनको समर्पणभावका बारेमा खुलेरै बोलेका थिए । सन् १९१९ को अप्रिल १९ मा बम्बईमा उक्त साहित्य सम्मेलनको आयोजना गरिएको थियो र त्यसको अध्यक्षता पनि मदनमोहन मालवीयले नै गरेका थिए । यसमा उनले ‘देवनागरी लिपि में लिखि हुई भाषा को राष्ट्रभाषा’ भन्दै हिन्दीलाई राष्ट्रभाषा बनाउनुपर्ने कुरामा जोड दिएका थिए । त्यस्तै सन् १९३९ को अक्टोबरमा पनि काशीमा नै साहित्य सम्मेलनको अधिवेशन भएको थियो र त्यसमा उनले स्वागाताध्यक्षका हैसियतले आफ्नो मन्तव्य दिएका थिए ।
हिन्दी भाषाप्रतिको प्रेमका कारण उनले सन् १९२० मा इलाहावाद विश्वविद्यालयको अङ्ग्रेजी भाषामा दीक्षान्त भाषण दिने परम्पारलाई तोडी हिन्दी भाषामा नै दीक्षान्त भाषण दिए । मदनमोहन मालवीय सानै उमेरदेखि हिन्दीमा कविता तथा लेखहरू लेख्ने गर्दथे । उनले ‘मकरन्द’ उपनामबाट पनि केही रचनाहरू प्रकाशित गराएका थिए । खासगरी उनी व्रज भाषा र खडी बोलीमा थुप्रै समस्यापूर्ति कविताहरू लेख्ने गर्दथे । त्यसको एउटा नमुना यहाँ उल्लेख गरिएको छः
यह रस ऐसो है बुरो मनको देत बिगारि
याते पास न जाइये जब लौं होय अनारि
महामना मदनमोहन मालवीयले नाटकहरूमा पनि भाग लिने गर्दथे । उनले नारीपात्रको भूमिकामा धेरै नाटक मञ्चन गरेका छन् । तसर्थ उनी संस्कृत, अङ्ग्रेजी, हिन्दी, उर्दू आदि भाषाका मर्मज्ञ भए पनि हिन्दीप्रतिको उनको प्रेम साह्रै उत्कृष्ट रहेको थियो ।
९. महामनाको निधन
भारतीय उपमहाद्वीपमा नै सर्वाधिक चर्चित व्यक्तित्व महामना मदनमोहन मालवीयले आफ्नो कर्मठ जीवनलीलालाई १२ नोभेम्बर १९४६ (मार्गशीर्ष कृष्णपञ्चमी वि.सं. २००३ साल) मा त्यागेका थिए । उनको मृत्युपश्चात् भारतका विभिन्न राजनेता, समाजसेवी, धार्मिक व्यक्तित्व र साहित्यकारहरूले उनको यशोगान गाएका थिए । राजनीतिक रूपमा उनीसँग निकट रहेका महात्मा गान्धीले भनेका थिए– ‘पण्डित मालवीय जी की मृत्यु से भारत ने अपना सबसे वरिष्ठ तथा एक योग्यतम एवं अप्रतिम सेवक खो दिया है । अन्तिम समय तक वह भारत तथा इसकी स्वतन्त्रता के बारे में सोचते रहे ।’ त्यस्तै गणतन्त्र भारतका प्रथम प्रधानमन्त्री पं. जवाहरलाल नेहरूले मालवीयप्रति भावपूर्णं श्रद्धाञ्जलि दिँदै भनेका छन् ।
‘…वे उन महान् लोगों मे से एक थे जिन्होंने भारतीय राष्ट्रवाद की नींव रखी और इस पर एकएक इँट तथा एक एक पत्थर रखकर महान् भारतीय स्वतन्त्रता का भवन खडा किया वह न केवल भारतीय राष्ट्रवाद के महान् जनक थे बल्कि हममें से बहुतों के पितातुल्य थे जिनके नेतृत्व में हमने जनसेवा के बारे में बहुत कुछ सीखा । यह एक बहुत बडा झटका है । वह मात्र ऐसे व्यक्ति नहीं थे जिन केवल सभाओं मे काम करना तथा बोलना जानते थें बल्कि दुनियां जानती है कि उन्होंने अपने पीछे ढेरों उपलब्धियां छाडी हैं…।’
0 comment