काठमाडौं - इरानमा भइरहेको प्रदर्शनमाथि सुरक्षा निकायद्वारा गरिएको हिंसात्मक कारबाहीमा २ हजार भन्दा बढी मानिसहरू मारिएको एक मानवअधिकार समूहले जनाएको छ ।

यसैबीच राष्ट्रपति ट्रम्पले इरानीहरूलाई सहायता मार्गमै छ भनेर आश्वासन दिएका छन् ।

अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सीले अहिलेसम्म १ हजार ८५० जना प्रदर्शनकारी, सरकार सम्बद्ध १३५ जना, संलग्न नभएका नौजना सर्वसाधारण तथा नौ जना बालबालिकाको मृत्यु पुष्टि गरेको जनाएको छ । यो सबै १७ दिनको अवधिमा इन्टरनेट अवरुद्ध भइरहँदा भएको बताइएको छ ।

ट्रम्पले मंगलबार साँझ इरानबारे हुने बैठकमा सहभागी हुनेछन् र उनले मृत्युको वास्तविक तथ्याङ्क प्राप्त गर्ने वाचा गरेका छन् ।

हत्या निकै ठूलो देखिन्छ तर अहिले निश्चित रूपमा भन्न सकिँदैन  ट्रम्पले ह्वाइट हाउस फर्किँदै पत्रकारहरूलाई भने ।

यसअघि मंगलबार ट्रम्पले समाजिक संजालमा इरानी अधिकारीहरूले ठूलो मूल्य चुकाउनु पर्ने र मानिसहरूलाई प्रदर्शन जारी राख्न आग्रह गरेका थिए ।

ट्रम्पले यस कारबाहीको प्रतिक्रियामा सैन्य तथा अन्य विकल्पहरू पनि विचार गरिरहेका छन् । उनले इरानसँग व्यापार गर्ने कुनै पनि देशमाथि पहिले नै २५ प्रतिशत शुल्क घोषणा गरिसकेका छन् ।

रिपोर्ट अनुसार देशका ३१ वटै प्रान्तभित्र १८० शहर र नगरहरूमा फैलिएको विरोध आन्दोलन इरानी मुद्राको गिरावट र चर्को जीवनयापन खर्चप्रति बढ्दो आक्रोशका कारण सुरु भएको थियो ।

यी आन्दोलनहरू छिट्टै राजनीतिक परिवर्तनको मागमा परिणत भए ।

यो सन १९७९ को इस्लामिक क्रान्तिपछिदेखि धर्मशासित व्यवस्था विरुद्धका सबैभन्दा गम्भीर चुनौतीहरूको रूपमा विकसित भएको छ ।