काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भिमसेन थापाको ४६ वर्षको उमेरमा निधन भएको छ। पन्ध्र महिनादेखि प्यान्क्रियाज क्यान्सरबाट पीडित थापाको शुक्रबार बिहान ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको नगरपालिकाले जनाएको छ। थापा नेपाली कांग्रेस क्षेत्र नम्बर–२ का सचिवसमेत थिए।

वडाध्यक्ष थापाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। अन्तिम श्रद्धाञ्जली कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा कांग्रेस नेता प्रकाशमान सिंह, महामन्त्री गगन थापा र कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले पार्टीको झण्डा ओढाइ श्रद्धाञ्जली अर्पण गरेका थिए। अन्तिम बिदाइका लागि आर्यघाटमा सयौँ शुभचिन्तक तथा आफन्तजनहरूको उपस्थिति थियो। थापाका श्रीमती, एक छोरा र एक छोरी छन्।

यसैबीच, वडाध्यक्ष थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै कागेश्वरी मनोहरा नगरपालिकाले शुक्रबार शोक बिदा दिने निर्णय गरेको छ। प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीद्वारा जारी शोक विज्ञप्तिमा नगरपालिका कार्यालय, वडा कार्यालयहरू, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय तथा संस्थागत र सामुदायिक विद्यालयहरूमा बिदा रहने उल्लेख छ।

नगरपालिकाले मृतक थापाप्रति श्रद्धाञ्जली प्रकट गर्दै उनको आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।