काठमाडौं - नवलपरासीका किसानहरूले भारतीय केराको आयात नरोके असोज २ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका छन्।
भारतीय केराको आयात रोक्न स्थानीयदेखि केन्द्र सरकारसँग माग गर्दासमेत वास्ता नगरेको भन्दै किसानहरूले असोज २ गतेदेखि आन्दोलनको घोषणा गरेका हुन्। नवलपरासी केरा उत्पादक संघले घोषणा गरेको कार्यक्रममा राजमार्ग अवरुद्धदेखि भारतीय केरा बोकेर आउने सवारी साधनलाई रोकेर केरा जफत गर्ने लगायतका छन्।
भारतबाट निर्वाध रूपमा केरा आउँदा खेतमा तयार भएका केरा बिक्री हुन नसकेपछी नवलपरासीका किसान मर्कामा परेका छन्।
भारतीय केराको आयातलाई बन्द गर्नुपर्ने किसानहरूको प्रमुख माग छ। त्यस्तै भारतीय केराका कारण उत्पन्न समस्यालाई समाधान गर्न सरकारले केराको बजारीकरण गर्नुपर्ने अर्को माग छ।
भारतबाट निर्वाध आएका कारण केही दिनअघि ५० रुपैयाँ प्रतिदर्जनमा बिक्री भइरहेको केरा अहिले मुस्किलले ३० देखि ४० रुपैयाँमा पनि बिक्री हुन छाडेको केरा उत्पादक संघका जिल्ला अध्यक्ष लख्खु यादवले बताए।
नवलपरासीको प्रतापपुर, सुस्ता, सरावल र विनयी त्रिवेणी गाउँपालिका केराको पकेट क्षेत्रका रूपमा रहेको छ। यस क्षेत्रका करिब १२ सय किसानले १८ सय बढी बिघामा व्यवसायिक केरा खेती गर्दै आएका छन्।
१२ देखि १५ महिनामा तयार हुने केराको मुख्य बिक्री हुने समय वैशाखदेखि कात्तिक (छठ) सम्म रहेको छ। अहिले केराको माग बजारमा बढेपनि भारतीय केराका कारण नेपाली किसानका केरा खेतमै कुहिन थालेको अध्यक्ष यादवले बताए।
'अहिले दैनिक ७० देखि ८० पिकअप बिक्रीका लागि बाहिर जान्छ। त्यतिकै मात्रामा तयार भएका केरा छन्। तर भारतीय केराका कारण दैनिक ७० देखि ८० पिकअप केरा खेर गएको छ,' अध्यक्ष यादवले भने।
एक बिगा क्षेत्रफलमा पाँच देखि छ लाखसम्मको उत्पादन गर्न सकिने केरा जिल्लाबाट वार्षिक रूपमा १ अर्ब बढीको उत्पादन हुने गरेको अध्यक्ष यादवको भनाइ छ।
केरा नबिकेपछि अहिले किसानहरूले टेक्टरमा लिएर टोल टोलमा डुल्ने गरेका छन्। 'भारतीय केराले व्यापारी खरिद गर्न आउन छाडे। टोल टोलमा पुगेर सस्तोमा केरा बिक्री गर्नुको विकल्प छैन,' टेक्टरमा राखेर केरा बिक्री गर्न परासी पुगेका सुस्ता गाउँपालिका श्रीरामपुर गाउँका किसान श्रीकान्त कोइरीले भने।
नेपाली किसानले उत्पादन गरेको केरालाई मात्र बजारीकरण गर्न सके भारतबाट केरा आयात गर्न नपर्ने किसानहरूको भनाइ छ।
सरकारले भारतीय केराको आयातलाई रोकेर नेपाली किसानको व्यवसायिक खेतीलाई प्रोत्साहन गर्नुपर्ने किसानको माग छ।
केरा फलका लागि मात्र होइन यसबाट धेरै फाइदा लिन सकिने किसानहरू बताउँछन्। यसको जरादेखि बोटसम्म पाइने सबै वस्तु उपयोगी छन्।
किसानहरूका अनुसार केराको बोटबाट थाल, कचौरा बनाउन सकिन्छ। गुन्द्री, चकटी बनाउन सकिन्छ। केही स्थानमा यसको बोटबाट चप्पलसमेत बनाउने गरिएको छ।
त्यस्तै यसबाट आउने रेसाले खागी कपडा बनाउन सकिने र यसको पनि आयुर्वेदिक औषधिमा उपयोग गर्न सकिने किसानहरू बताउँछन्।
त्यसैले केरा खेतीलाई प्रोत्साहन गर्दै आवश्यक पर्ने उद्योग सञ्चालनको वातावरण मिलाउन पनि किसानहरूले सरकारसँग माग गरेका छन्।
0 comment